Tirtha Raj Adhikari

ऊ सर्वहारा हो रे !!

Hollywood Khabar January 27,2024 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जनवरी २७, २०२४

पुँजीपति र धनीमानीको
बाहिरबाहिर निकै खोइरो खन्छ
भित्रभित्र तिनैले पस्किएका
परिकारहरू डकार्दा
आफैँलाई अहो भाग्यमानी ठान्छ
जीवनले छलाङ मारेको
सफलता मान्छ
कसैले आफ्नो परिचय मागे
मुठ्ठी कस्तै रातो सलाम ठोकेर
आफू खाँटी सर्वहारा हुँ भन्छ
हो कि त !

लाल ऊ
दलालहरूको बाहिरबाहिर
खुबै विरोध गर्छ
नाफामा जीवन चल्ने देख्यो भने
भित्रभित्र तिनैका पाउ मोल्छ
धनमा धनै थुपार्छ
अनि भन्छ -
म केही नभएको सर्वहारा हुँ !?

के छैन उससित
पहाडका खेतबारी, डाँडापाखा
उसैका छन्
तराईका मौजाका मौजा
उसैका छन् सहरबजारमा भवनका भवन
उसैका छन्
स्कुल र कलेज उसैका छन्
अस्पताल र क्लिनिक
उसैका छन्
सहकारी र बैँक
उसैका छन्
सुन, चाँदी र हीरा उसैका छन्
टावर उसैका छन्
पावर उसैका छन्
एनजिओहरू उसैका छन्
भोजभतेर र जन्तीका लस्कर
उसैका छन्
डन उसैका छन्
तस्करहरू उसैका छन्
सायद सर्वहारा हुन
यिनै मापदण्डहरू चाहिने हुन् भने
यी सबै कुरा पूरा गर्ने
ऊ खाँटी
सर्वहारा हो
गरिबहरूको विधाता हो !!

विधाता !
गरिबी घटाउन गरिबहरूलाई
मञ्चमा नचाइरहन्छ
तिनलाई गरिबीका गीत रटाएर
मालै मालाले पुरिँदै
तिनका अगाडि
आफूलाई सामन्त विरोधी
देखाइरहन्छ !

यस्तो नाटक को खेल्न सक्छ ?
मन यसरी को भुट्न सक्छ ?
ढाँट्ने पनि कला चाहिँदो रहेछ !
यस्तो कलामा खप्पिस - ऊ
पक्कै पनि खाँटी
सर्वहारा हो !!

बुलेट प्रेमी - ऊ
ब्यालेटमा विश्वास गर्दैन
भत्ता राम्रै मिल्छ भने
त्यसैलाई फेरि
विश्वास गर्न पनि पछि पर्दैन !
ब्रेड हो उसको भजन
ब्रेनलाई केही गन्दै गन्दैन !!

कलम कुच्याएर
बन्दुक सुम्सुम्याउँछ
मान्छेलाई खाडमा खसालेर
विषालु सर्प पाल्न बजेट रित्याउँछ !

जुस खान्छ
घुस खान्छ
कमिसन खान्छ
जहाँ खसीको मासु देखाएर
कुकुरको मासु बिक्री हुन्छ- भन्छ
ऊ त्यहाँ त्यही खान जान्छ !

के खाँदैन र !
ऊ सर्वहारा हो
जे भेट्यो त्यही खान्छ
तन खान्छ
धन खान्छ
वन खान्छ
जालझेल र छल गरी गरी
लठ्याएर मान्छेको मन खान्छ !!

**तीर्थराज अधिकारीका अरु कविता**