-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, डिसेम्बर २०, २०२१
मैले त चामलको मात्र
मोल तिरेको हुँ
चामलको बोराभित्र त
समावेशी र समानुपातिक
कोटाका आधारमा
धान , चामल र ढुटाले पनि
स्थान पाएका रहेछन्
ढुङ्गा, माटा ,किरा र पातपतिङ्गरले पनि
आसन जमाएका रहेछन् !
कुन कुन कुण्डमा नुहाएर हो ?
फलफूल र तरकारीहरू पनि
टलक्क टल्किएका छन्
नदी र नहरहरूमा नुहाएरै पनि
दुध, दही र महीले
आफ्नो गोरो रूप बोकिरहेका छन् !
यसरी नै
घिउ, तेल र मरमसलाहरूले पनि
स्वभाव मिल्नेहरूसित
मित लगाएकै छन् !
सन्धि-सम्झौताहरू गरेकै छन् !
धन्य ! गुणस्तर !
धन्य ! अपार व्यापार !
आँखाको पट्टी र हातको तराजु
होला के को प्रतीक ?
त्यो कला
कि आँखाको शोभामात्र हो ?
मैले नचाहेका
मैले किन्दै नकिनेका
ती वस्तुहरू
कुन दयालुले
मलाई किन दिइरहन्छन् - उपहार ?
विम्बै विम्बको
समावेशी सडकको छेउमा उभिएर
शिर उठाउँदै
म आकाश हेर्छु
त्यहाँ देखिन्छन् -
कावा खाँदै
जमिनका चल्ला चियाइरहेका - बाजहरू !
त्यहाँ देखिन्छन् - जमिनका
सुकोमल फूलहरू खोज्दै
असिना बोकेर दौडिरहेका - बादलहरू !
म नाङ्लाको अवशेषको
गास निल्दै
एक्काइसौँ शताब्दीको सुसेली हालेर
सहस्रौँ सपूतहरूको बलिदानले
प्राप्त स्वतन्त्रता !
बोरा बोराको
डोका डोकाको
झोला झोलाको
बट्टा बट्टाको
पोका पोकाको
समावेशी कोटाको
स्वादले तङ्ग्रिँदै
सडकको सिन्डिकेटलाई स्वागत गर्दै
जिन्दावादको नारा घन्काउँदै
उपभोग गरिरहेको छु !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!