-Tirtahraj Adhikari

राजनीतिका जुवाडेहरू

Hollywood Khabar July 18,2020 Comments

-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६ जुलाई १८, २०२०

जुवाडेहरू
मिलेर जुवा खेल्दा खेल्दै
सानै कुरामा सन्किन्छन्
अलिकति निहुँमै आपसमा रन्किन्छन्
रिसको पारो तातेर
मन बुझाउन नसकी
कोही खालबाटै बाहिरिन्छन्
कोही मन थामेर पूर्ववत्
उही खालमा पासा पल्टाइरहन्छन् ।

जुवाडेहरूको
कुनै अपरिचित पनि छिटै मित्र बन्छ
मित्रतामा धाँजा फाट्न पनि बेर लाग्दैन
मिलेका दौँतरीहरू
छिनभरमै पानी बाराबार गर्न पुग्छन् ।

जुवामा इमान - जमानको कुरा हुँदैन
लाज- सरमको कुरा हुँदैन
जुठो- चोखोको कुरा हुँदैन
न्याय- धर्मका कुरा हुँदैन।

यस खेलमा
तमासेहरूको उस्तै घुइॅंचो लाग्छ
जिताउरी पाउने आशामा
घुँडा धस्छन्
ध्यान दिएर हेर्छन्
बाजी जित्नेका पछाडि
पहरा नै बस्छन् ।

राजनीति- खेल पनि यस्तै रहेछ
घात-प्रतिघात
छल-कपट
असत्य र बेइमानमा
जो अगाडि छ
बाजी उसैले जित्ने रहेछ
नियम- नियम नै मिचिएको छ
विधान- विधान नै थिचिएको छ
कस्तो डरलाग्दो खेल हजुर !
यस नशामा
सोझाको त दुर्दशा नै हुने रहेछ !!

जुवाडे
जसका बालबच्चा भोकै रोइराखून्
विनापर्वाह उन्मत्त
ऊ खालमा छाती पिटिरहेको हुन्छ
त्यस्तै,
जनता आंसुको घुट्को निलिरहून्
कुनै वास्ता छैन
तर जनता ! मन्त्रजस्तै जपेर
स्वार्थ साधनामा देश बाजी थाप्दै
नेता भनाउॅंदाहरू !
राजनीति खेलिरहेका छन्
पानी धमिल्याउॅंदै
राजनीति गरिरहेका छन् !

**तीर्थराज अधिकारीका अरु कविता**

पाठशाला कता खोजौॅं

आज नेपाल बन्द छ- ३

आज नेपाल बन्द छ- २

आज नेपाल बन्द छ-१

मकैका फूलहरू

सपनामा हराएको बिपना

बोटको अठोट

भलिबल

भ्रमजाल

भेडा र गोठालाहरू

सत्ता

के प्रयोजन

स्वतन्त्रता !

राजनीतिका जुवाडेहरू

कवि र दुनियाँ

सलाम मुटुका मालिकहरूलाई