-Tirth Raj Adhikari

सलाम मुटुका मालिकहरूलाई

Hollywood Khabar February 05,2022 Comments

-तीर्थराज अधिकारी/गोरखा, लप्सीबोट, हाल सरस्वतीनगर, काठमाडौॅं, अप्रिल ११, २०२०

 

मुटु नभएकाहरू

भिरमा भेडा चराउॅंछन्

भिरमै घाॅंसदाउरा गर्छन्

पहरासित जुद्धै पहरामै कुद्छन्

पहरामा सुत्दै पहरामै उठ्छन् !

 

नदी तर्नुपरे

भेलमा पस्छन्

तुइनमा झुन्डिन्छन्

हिमाल चढ्नुपरे

विनाअक्सिजन उकालीमा लम्किन्छन् !

 

मुटु भएकाहरूलाई

पर्दैन भेडा चराउॅंदै दौडन कुनै भिरमा

पर्दैन घाॅंसदाउरा गर्न जीवनमा

पहरा त तिनका लागि दन्त्यकथा हुन्

सानै खोल्सो तर्नुपरे पनि

तिनलाई बोक्न तयार छन्

पिठ्युॅं कसैका

तिनका जुत्ता समाउन

सल्बलाएर आउॅंछन्

थुप्रै हातहरू

हिमाल आफैं आउॅंछन् - दर्शन गर्न

तिनका कोठाका सिसाका रंगीन पर्दाहरूमा !

 

मुटु नभएकाहरू निमुखा हुन्छन्

मुखै नभएपछि बोल्ने पो के ?

तिनीहरू पसिनाले भिज्दै चुपचाप

बगरमा गिट्टी कुट्छन्

भारीले थिचिन्छन्

खोरिया खन्छन्

खेतबारी जोत्छन्

तैपनि तिनको पेट भरिन्न !

 

मुटु भएकाहरू त

क्यासेट झैं रोकिॅंदै बज्दै

कुरामात्र जोतेर पनि

सहजै मीठा परिकार जुटाउन सक्छन्

शानले जीवन चलाउन सक्छन् !

 

मुटु भएकाहरू

ठान्छन् आफूलाई मालिक र अरूलाई दास

ठान्छन् आफूलाई आदेशकर्ता र अरूलाई आदेशपालक

सायद यसैका निम्ति ल्याइएको हो

देशमा गणतन्त्र !!

 

मुटु नभएकाहरूलाई

कुनै उपचार गर्नै पर्दैन मुटुको

मुटु भएकाहरूलाई

नयाॅं मुटु नै चाहिए पनि सजिलै मिल्छ

देशको मुटु नै किन नचुॅंडियोस् !

 

यिनको पुरानै मुटु पनि

फेरि नयाॅं हुन सक्छ !

 

मुटु नभएकाहरू

अटल हुन्छन्

स्थिर हुन्छन्

कसैले चलाउनै खोजे पनि

कदापि चल्दैनन्

आफ्नो चट्टानी अडानबाट

यी टसमस हुॅंदैनन् !

 

मुटु भएकाहरू गतिशील हुन्छन्

यिनलाई चलाउॅंछ - साइरनले

यिनलाई चलाउॅंछ - सलामीले

यिनलाई चलाउॅंछ - लिफ्टले

यिनलाई चलाउॅंछ - स्टेचरले

यिनलाई चलाउॅंछ- भेन्टिलेटरले

यिनलाई चलाउॅंछ- दासले

यिनलाई चलाउॅंछ- मालिकले

यिनलाई चलाउॅंछ - ओखतीले !!

 

मुटु भएकाहरू

अस्पतालका शैय्यामा आराम गर्छन्

मुटु नभएकाहरू

तिनका मुटुका चाल नाप्छन्

मुटु भएकाहरू

काला चस्माले आंखा ढाक्छन्

मुटु नभएकाहरू

खाली आंखाले आकाश हेर्छन् !!

 

जसले यस्ता मूल्यवान् मुटु पाए

ती सौभाग्यशालीहरूप्रति

मुटु नभएकाहरूका तर्फबाट

सलाम छ ! पुन: सलाम छ !!