-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, डिसेम्बर २८, २०२१
घोच्ने गरी
तीरझैँ उठेका औँलाहरू
अनायास क्षणभरमै
कर्कलाका डाँठझैँ गल्छन् भने
ती हुनुको के प्रयोजन ?
बोल्दाबोल्दै बोली नै
खरानीझैँ उड्छन् भने
ती ओठ र जिब्राको के प्रयोजन ?
फूल वा काँडा के हुन् ?
खोँच वा डाँडा के हुन् ?
आँखाहरू यथार्थ भेट्दैनन् भने
ती हुनुको के प्रयोजन ?
दुर्गन्ध र सुगन्धको भेउ नपाउने
मात्र सिँगानको धारा छुट्ने
मासुमात्रको पहाड हो भने
त्यो नाकको के प्रयोजन ?
गीत बज्यो कि सङ्गीत
गाली छुट्यो कि ताली
भेद छुट्याउँदैनन् भने
ती कानहरूको के प्रयोजन ?
जिब्राको बहिखातामा
स्वादको लेखा राख्दै
घाँटीको छहराबाट
पेटको गुफामा
तरल वा ठोस के खस्यो
त्यसले पोस्यो वा डस्यो
मन - सबै सबैको ख्याल गर्दैन भने
त्यो हुनुको के प्रयोजन ?
नाडीमै घडी हुँदा पनि
समय नचिन्ने
खलाँती सास उफ्रने भकुन्डो
डल्लाको हल्लैमात्र हो भने
आखिर
मान्छे नै हुनुको पो के प्रयोजन ?
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!