-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, मे ६, २०२२
कथाले मागेपछि
एकाएक मञ्चमा आएर
हात जोड्दै
जनतामा शिर झुकाउँदै
शिष्ट र मीठो बोलीमा
भोट माग्छन्
कलाकार नेताहरू !
जब भोटले झोली भरिन्छ
फेरि अबिरले रङ्गिँदै
जनतालाई पिठ्युँ फर्काउँदै
नेपथ्यमा हराउँछन्
कलाकार नेताहरू !
अबिर जब पखालिन्छ
मनबाटै पखालिन्छन् -जनता
जीवनको कोल्टो फेराइमा
विजयी नशाले
स्मृति हराउँछ
अतीत कतै याद हुन्न !
अब यिनलाई
झोला बोक्ने कोही भए पुग्छ
छाता बोक्ने कोही भए पुग्छ
पिठ्युँमा बोक्ने कोही भए पुग्छ
तेल घस्ने कोही भए पुग्छ
होटल र बोतल भए पुग्छ
परी र परिकार भए पुग्छ
माल जुटाउने कोही भए पुग्छ
पाउ मोल्ने कोही भए पुग्छ
स्वाभिमान मरेको लास भए पुग्छ
दलाली गर्ने दास भए पुग्छ ।
फेरि - फेरि पनि
नाटक खेल्नुपरे
यसरी नै यही कथावस्तुमा
अझ परिपक्व बन्दै
अभिनय गरिरहन्छन्
यी कलाकार नेताहरू !!
नाटकको रौनकतामा
हामी जनता लठ्ठिरहन्छौँ
फूलमाला र अबिर बोकिरहन्छौँ
जय जयकार ! गरिरहन्छौँ
हामी नै पनि
छिटै अतीत बिर्सिरहन्छौँ !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!