-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, अप्रिल ३०, २०२२
मुटुको रोग साह्रै डरलाग्दो हुने रहेछ
प्राण प्रश्वासको मूलकेन्द्रलाई नै
रोगले गलाउन थालेपछि
मेरी आमा थला परिन्
छातीमा जलन बढ्यो
सास फेर्न गाह्रो भई
स्वाँ......स्वाँ.....बढ्यो
मनको पूरै खुसी निचोरिएर
आँसुको ढिका ढिका खस्यो ।
कैयौँ दिनहरू उदाए/ अस्ताए
उपचारका कैयौँ विधिहरू खेर गए
व्यथा ओइलाएन
दिलको आगो निभेन
उल्टै झन् मेरी आमा
रोगले पिल्सिँदै
नीरस बन्दै गइन् ।
मुटुको शल्यक्रियापछि
अप्रेसन थिएटरबाट
मेरी आमालाई वार्डको शय्यामा सारिएको छ
रगत र सलाइनका थोपाहरूमा
प्राण झुन्ड्याएर उनी शय्यामा निस्लोट छिन् ।
सिरानीमा ग्लुकोजका बट्टाहरू थुपारेर
म उनको अनुहार हेर्दै
दैवसँग प्राणको भिक्षा मागेर
उनका हातहरू सुम्सुम्याइरहेको छु ।
थाहा छ मेरा कुनै पनि शब्दको
उनी जवाफ दिन सक्दिनन्
तै पनि कान नजिकै
आमा ! सम्बोधन गरिरहेको छु ।
म उद्विग्न छु
म उनको उज्यालो अनुहारको प्रतीक्षामा छु
मेरी आमा निरोगी बनून्
कुनै बैसाखीका आधारविना नै
आफ्नै पैतालाले हिडून्
आशा उमारेर आफैँभरि
म मेरी आमाको
स्वस्थ नवजीवनको प्रतीक्षामा छु !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!