-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, जनवरी १८, २०२२
दाह्री पाली नयाँ जोगी खरानी घस्छ बेसरी
शठ जो छ उही गर्छ जान्ने बन्दै चुरीफुरी
नाच्न केही नजान्नेले भन्छ - टेढो छ आँगन
सिन्को केही नभाँच्नेले कामको गर्छ वर्णन ।१।
समात्न पिङको डोरी जसको हात काँप्दछ
मच्चाएको सयौँ झट्का भन्ने त्यै गफ छाँट्दछ
किरन्टोकी झनै गर्छ दान उदारका कुरा
साँच्चै हो कि भनी ठान्छन् ती सोझा मनका बरा !२।
फिस्टाले रूखको हाँगो लच्काएँ भन्न सक्दछ
जिउको डाल देख्नेले त्यो कुरा मान्न सक्दछ ?
स्याल कुर्लिरहोस् किन्तु कहाँ बन्छ र केशरी ?
काग नित्य कराएर कोइली हुन्न क्यै गरी ।३।
हुटिट्याउँ भनोस् जल्दै - म दिन्न बग्न सागर
के त सागर रोकिन्छ मानेर त्यसको डर ?
काँडाले दिन्न क्यै बास्ना दर्द नै उपहार हो
फूलले दिन्न क्यै दर्द बास्ना नै उपहार हो ।४।
हात सेतो हुँदै हुन्न गोललाई समाउँदा
आगो आफ्नो कतै हुन्न अँगालामा अटाउँदा
सर्पलाई पियाएको दुध बन्छ र अमृत ?
उपकारी कुनै हात होला वानर क्वैसित ? ५।
सिँह-साँढे दुवैलाई स्यालले नै जुधाउँछ
चोक्टा लुछ्न जता मिल्छ मुख आफ्नो घुमाउँछ
अक्टोपस कतै रूप , कतै बाज- अजिङ्गर
यिनैका मुखमा पस्छन् निर्धा ढल्दै निरन्तर ।६।
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!