-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६ मार्च ३०, २०२२
बगरका बालुवामा सुन उमारिरहने
दूर सागरको यात्री - गण्डकीले
हिउँदको आगमन हुँदा नहुँदै
सुक्दै हराउने
मौसमी खहरेहरूलाई
जीवनको यथार्थ गति के हो ?
सूचना गर्दै
अनवरत मीठो सङ्गीत सुसाइरहने
उपक्रमलाई
कल्पना गर्न सक्दिनँ
कहाँ विराम दिएको होला र ?
समयका कोर्राले हानेर
झरे पनि पुराना पात
धैर्यले फेरि नयाँ पात बोक्दै
बिदा भएकी कोयलीलाई
हार्दिकताले निम्त्याएर
बोटहरूले -
आङ मर्काउँदै
शिर नचाउँदै
सुस्त समीरसित फिर्फिराउँदै
जीवन- परिस्थितिका
समय-चक्रहरूसित
खेल्ने उपक्रमलाई
कल्पना गर्न सक्दिनँ
कहाँ रोकेका होलान् र ?
तीन दर्जन वर्षअघि
चराहरू चिर्बिराइरहने
आँपका विशाल बोटमुनिका
गर्मीमा गर्मी नै बल्ने
जाडामा शीतै-शीत झर्ने
टिनका छानालाई छहारी बनाएर
जग उठेका भवनका
कोठा-कोठाका भित्तामा सजाइएका
कालापाटीहरूमा
कलम समाउन अभ्यस्त
आफ्ना औँलाहरूलाई
चक समाउने तालिम दिँदै
कुनै एकलव्यका
औँलाहरू नकाट्ने प्रण गर्दै
चम्किरहेका ताराहरूलाई
अझ उजिल्याउने धृष्टता बोकी
जीवनमा पहिलोचोटि
म सेता अक्षरहरूको खेती गर्न
अघिसरेको हुँ
वर्षहरू खै ! कति आए , गए !!
मलाई त्यस अवसरको प्रथम उपहार दिने
भीमोदय ! तिमी धन्य छौ !!
संसर्ग र उपस्थितिभन्दा पर
विसर्ग र अनुपस्थितिमा
झन गाढा बन्दै
मायाका विम्बहरू ब्युँझिरहेका छन्
चौतारी / वनपाखा
घाट/बजार
खोला/कुला
खेत / बारी
उकाली/ओराली
बगर/जलतरेली
हास- परिहास
सपनाका चित्र झैँ
मेरा स्मृतिमा अझै
फन्कामारिरहेका छन् !
आरुघाट !
जहाँ पाइला टेकिँदा
पाएको स्वागतको हर्ष
अनि
जहाँबाट बिदाइमा पाइला उचाल्दा
खसेका आँसुका थोपाहरूका
याद अझै छन् मसित !
बाआमाहरूले स्नेहले
लगाइदिएका - अबिर र माला
दिएका प्रगतिका हार्दिक शुभकामना
शुभ आशीर्वाद
म कहिल्यै भुल्न सक्दिनँ !
यो अनुपम हार्दिकताको
संयोगको सूत्र
भीमोदय !
आखिर तिमी नै त हौ
अत: यी मेरा भावनाका फूलहरू
तिमीमै समर्पित छन् !!
काल निकै बित्यो
सायद गण्डकीमा छाल निकै उठ्यो !
रूप र परिधान - तिम्रो
उस्तै छ वा फरक ?
म क्यै भन्न सक्दिनँ !
तर , म भन्न सक्छु
प्रजातन्त्रको मिर्मिरेमै
आफ्ना दृढ पाइला टेकेर उभिने
तिम्रो साहसलाई
कुनै शक्तिले गलाउन सक्दैन
कुनै हुरीले ढलाउन सक्दैन
समय साक्षी छ
सात दशकको परिपक्व वय बोक्दै
यात्रीहरूलाई पारि पु~याउन
अहोरात्र डुङ्गा खियाउँदै
उच्च अझ उच्च हुँदै
शीत सहेर
पसिनामा गर्व गर्दै
चन्द्र छुने ऊर्ध्वगामी यात्रामा
तिमी तल्लीन छौ
भीमोदय !
कसले डगाउन सक्छ - तिम्रो तपस्या ?
ज्ञान बोल
विज्ञान बोक - भीमोदय !
युग बोल
युग बोक - भीमोदय !
दिँदै छु काया टाढा भए पनि
मायाले अजस्र हार्दिक शुभकामना
तिमी स्नेहले स्वीकार गर !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!