-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, फेब्रवरी ३, २०२२
केवल भोकलाई भगाउन
अनेकौँ उपकरणहरू
परस्पर अनुबन्धित छन् ।
तल आगो छ
माथि ओदान छ
ओदानमाथि हाँडी छ
आगाको राँकोसँगै
हाँडीको तात्नेक्रम छ
तात्नुको सीमालाई पर्गेल्दै
पारखी हातहरू
हाँडीमा मकैका घान हाल्छन् ।
मकैका दानाहरू
पोलिँदा पीडाले रन्थनिन्छन्
हाँडीको गर्भमा परस्पर जुध्छन्
कप्टेराले छेकिन्छन्
बिट नाघ्न सक्दैनन्
जीवन पोलिन्छन्
हार्नुको क्षणलाई स्विकार्दै
बल थाक्छन्
तुजुकको विश्राममा
मकैका दानाहरू
निर्जीव फूल बन्छन् ।
आखिर जीवनविनाका -यी फूल
आगो फुक्नेका
ओदान ठड्याउनेका
हाँडी बसाल्नेका
कप्टेरा चलाउनेका
घान हाल्ने र निकाल्नेका
भोकका मीठा परिकार न हुन् ।
जीवनको समाप्तिमै पनि
यी दाँतको घट्टमा अझै पिसिन्छन्
जिब्राको इसारामा अझै घिसिन्छन्
घाँटीको पहराबाट लड्दै
पेटको गुफामा पस्छन्
कणकणको अवशेष
पानीको घुट्काघुट्कामा बग्दै
सजीव मकैका दानाहरू
निर्जीव फूलहरूमा बदलिएर
आफ्नै अस्तित्वबाट टाढिन्छन् ।
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!