-Tirth Raj Adhikari

सपनामा हराएको बिपना

Hollywood Khabar January 29,2022 Comments

-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, जनवरी २९, २०२२

 

अग्ला अग्ला हिमगिरि यहाँ होचिए वाद अग्ल्यो

कस्तो आयो नवयुग यहाँ बाजले बुद्ध च्याप्यो

सिस्ना घारी वरपर तिनै ठानिए कल्पवृक्ष

रङ्गीचङ्गी बस-उठ यहाँ देखिँदै छन् प्रत्यक्ष ।१।

 

के हो को के विजन पथमा छैन क्यै छ्यानब्यान

पैह्रेका छन् मुकुटमणि झैँ त्यागले अन्ध मान

स्वप्ना भन्दै वणिकजनको मात्र व्यापार जाग्यो

पर्दा लाग्यो सृजनपथमा लोकमा शोक छायो ।२।

 

ढुङ्गा हान्ने कलुष मनका अग्लिए सान साथ

श्रद्धा गर्ने मन थकित छन् माथमाथि छ हात

उस्तै छन् ती गरिब दुनियाँ छैन क्यै रूप अर्को

काँपेकै छन् लुगलुग कठै ! ढाकिने छैन बर्को ।३।

 

स्रष्टा योद्धा अटल दिलमा भाव यस्तै थियो त ?

भन्छौ स्वप्ना युगपुरुषको मान के अर्पियौ त ?

भो भो यस्तो छलकपटको भाव दुष्कर्म त्याग

बोलीभन्दा रगत - पसिना साथ सत्कर्म जाग ।४।

 

जस्ले त्याग्यो रहर मनको देश भन्दै जवानी

छाती थापी कहरपथमा अर्पियो जिन्दगानी

कस्ता कस्ता गिरिवर झुके, लत्रिए वीर सामु

स्वार्थी बन्दै नभज सपना गर्न क्यै लम्क आफू ।५।

 

यै माटो हो सकल जनको प्राण आधार भन्दै

माटो छोई नरम दिलले स्वच्छ आकाश खोज्दै

आफ्नो भन्दा जहर घरको त्रासले रन्थनायो

त्यो आत्माले भन त कसरी आज के त्राण पायो ? ६।

 

यो माटामा अब त रसिलो फूल क्यै फुल्नुपर्छ

भोका-नाङ्गा विकल सबको भाग्य क्यै खुल्नुपर्छ

आशा साथै अझ रहरले मुक्त सोपान उक्लौँ

छाया चिर्दै नवकिरणले सृष्टि सौन्दर्य साँचौँ ।७।

 

आफैँ बिर्सी सृजनपथको खोजमा लम्किएका

गोली थापी जनमघरको सार भै चम्किएका

ती तन्देरी वय र सपना भुल्न के हुन्छ आज ?

त्यै आत्माको अजर बलको दान के हैन ताज ?

**तीर्थराज अधिकारीका अरु कविता**

बोटको अठोट

भलिबल

भ्रमजाल

भेडा र गोठालाहरू

सत्ता

के प्रयोजन

स्वतन्त्रता !

राजनीतिका जुवाडेहरू

कवि र दुनियाँ