-तिर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, अक्टुवर ११, २०२२
तिम्रो नीलिमामा
यी बादलहरू
किन मडारिएका छन् ?
कतै सिंहका आकृति
कतै अजिङ्गर , गोमनका आकृति
कतै मत्ता हात्ती
दाह्रा राक्षसी आकृति
यी किन देखा पर्छन् ?
बकुल्लाजस्ता यी के ढुक्छन् ?
मुसा- बिरालाजस्ता
यी के खेल खेलिरहेका छन् ?
घनघोर यी
कहिले एकै ठाउँ जम्मा हुन्छन्
कहिले यी हतारले
परपर किन दौडिइन्छन् ?
कति उन्मत्त छन् यी बादलहरू !
त्यो मिर्मिरे क्षितिजमा यिनै छन्
ती कलिला कोपिला र फूलहरूमा यिनै छन्
कस्तो निर्दयता !
धर्ती धर्तीमा -
यी कहिले असिना बर्साउँछन्
यी कहिले वज्रपात गराउँछन्
यी कहिले हिउँ नै हिउँ खन्याउँछन्
कस्तो निरङ्कुशता !
रूखो गर्जना रिसका फिलिङ्गा
यिनले कति पहिरा बोकेका छन् ?
यी कति परेलामा
शीत खन्याउँछन् !
यी उज्यालो किन चाहँदैनन् ?
कस्तो प्रतिकूल इच्छा !
चिसो कठाङ्ग्रिने माटो
अँध्यारो निराधार बाटो
जुन्किरी हुरीहरूमा यिनै मार्छन्
उज्याला आभाहरू निभाएर
यी केका जगेर्नामा छन् ?
कस्तो नीच अकर्मन्यता !
यी छाना ओत पनि उडाउँछन्
यी मुटु र ओठ पनि चुँडाउँछन्
भन , बोल ए ! अनन्त आकाश
यी निर्लज्ज बादलहरू
कस्तो दिग्विजयको यात्रामा छन् ?
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उमेश तामाङ पक्राउ
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो