-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, अप्रिल १५, २०२२
यस धर्तीमा मेरो आगमन
दिनमा भयो कि रातको नीरवतामा !
जे भए पनि मेरा निम्ति
त्यो दिन न त दिन थियो
त्यो रात न त रात थियो ।
अनभिज्ञ अविदित यात्री !
मेरा हात पाखुरामा शक्ति थिएनन्
कानमा शब्द थिएनन्
आँखामा दृष्टि थिएनन्
उत्सवहरू रचिए कि रचिएन् ?
त्यो पनि थाहा छैन ।
भाषा थिएन
शरीरमा कुनै वस्त्र थिएन
आफन्त थिएनन्
पराई / परचक्री थिएनन्
देश थिएन
लाज शरम थिएन ।
मेरो अनभिज्ञतामा
आमा र बाबु पनि थिएनन्
मेरो आफ्नै कथा
मेरो आफ्नै इतिहास
मभन्दा / मेरो स्मृतिभन्दा
धेरै पर छ
त्यो कथा / त्यो इतिहास
आज कसैबाट सुनिरहेको छु
हो कि होइन ?
आफ्नै आगमनको मितिलाई
म कसरी हेरौँ ?
जन्मेका मान्छेहरू
मिति खोजेर उत्सव मनाइरहेका छन्
जन्मेपछि त ती नमर्नु पर्ने हो
तर लासको लस्कर पनि देखिएकै छ !!
के मान्छे एक दिनले जन्मियो त ?
खै , इतिहास ती फराकिन सकेनन् त !
त्यस मितिले मलाई
किन धैर्य दिन सकेन ?
बाँच्ने हतारमा अझै किन दौडिरहेको छु ?
प्रश्न अझै छ मनभरि
अर्थ मिलेन कि ?
जन्मको परिभाषा !!
यात्रा सिर्जना पदचिन्ह परेला हुन्
जीवन सूर्यजस्तै उदाउँछ
बादलहरू पनि छन्
छेकिएमा अस्मिता किनारा पर्छ
इतिहास पूर्वकथा विनाहलचल
पूर्णविराम विश्रान्तिमा रित्तिन्छ
कर्मका जराहरू नै जन्म हुन् ।
जीवन एक दिनले मात्र जन्मिँदैन
उत्सव एक दिनले मात्र पूर्ण हुँदैन
हिँड्न नखोजे
प्रारम्भ छिटै अन्त हुन सक्छ
जीवन खिया लाग्छ बासी हुँदै बसेमा
उदासी मन दिन बलि चढ्न सक्छ
दशैँको कथाजस्तै पर्सिएर झर्न सक्छ ।
पैँचो अलिकति मात्र विश्वास हो
यथार्थ आफ्नै आँखाअगाडि
उभिएको हुनुपर्छ
अस्मिता सचेत मनको खेती हो
सचेत मनमात्र
साँचो अर्थमा यथार्थ उठ्न सक्छ ।
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!