-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, मे ३, २०२२
मेरो छोरो
वर्षले जति नै
पाकोजस्तो लागे पनि
अल्लारे नै छ
लोकहितकारी - प्रजातन्त्र
मैले उसको नाम राखे पनि
यसले मेरो धेरैचोटि मन दुखाएको छ ।
के गरौँ !
माया गर्दागर्दै
पुल्पुल्याउँदा पुल्पुल्याउँदै
हठी बनिसक्यो
काँधमा उचाल्यो
कान टोक्छ
कपाल लुछ्छ
टाउकामा मुड्कीले ठोक्छ
पिठ्युँमा बोक्यो
पिठ्युँमै लात्तीले हान्छ
दिसा- पिसाबले त
कति रङ्गायो - हिसाब नै छैन !
काखी च्याप्यो
मुख थुन्छ
घाँटी थिच्छ
नाक त कति टोक्यो टोक्यो !
हतियार केही भेट्यो कि हानिहाल्छ ।
आमाबाबु कोही भन्दै भन्दैन
कसैलाई केही गन्दै गन्दैन
मुखमा जे आयो त्यही बोल्छ
आगो साथमा छोड्दैन
कापी पोल्छ
किताब पोल्छ
कलम भाँच्न पाए दङ्ग पर्छ ।
उसका खेल अनौठा छन्
झन्डा भन्दै - कालो टालो उचाल्छ
बारम्बार - मुर्दावाद ! मात्र भन्छ
पुतला जलाउने भन्दै
घरका धेरैथोक पोलिसक्यो
फूल च्यात्न पाए दङ्ग पर्छ
यस्तो केही नगर् भन्नै हुँदैन
ढुङ्गो उचालेर
उल्टै मेरो टाउको ताक्छ ।
मैले कस्तो तालिम दिएँ ?
म कस्तो धरालो भएँ ?
'प्रजातन्त्र' नामको
मेरो प्यारो छोराको ?
उसको स्वभाव यस्तो हुनुमा
दोष उसको मात्रै कि ?
दोष मेरो पनि ?
निर्वाक् छु
उत्तर यसको
म कहाँ खोजौँ ?
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!