-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, मे १४, २०२२
लिफ्टबाट झर्दै
चिल्ला मोटरमा सवार हुने
वैभवशालीहरू
मन्दिरको ढोकासम्म पुग्दा नपुग्दै
जुत्ता र चप्पलविहीन हुन्छन् ।
तिनका कतै नजोडिने हात
मन्दिरको परिक्रमासँगै
जोडिँदै जान्छन्
तिनका कतै नन्युरिने शिर
मन्दिरको परिक्रमासँगै
न्युरिँदै जान्छन्
तिनका कतै नगलेका आँत
मन्दिरमै कर्कलाका डाँठ झैँ
गल्दै जान्छन् !
तिनका वलशाली हत्केलाहरू
मन्दिरका छेवैमा
शान्त बसिरहेका
फुस्रा बाबाहरूका सामुमा
निरीह बन्दै फैलिन्छन् !
तिनका अर्थ नखुलेका
हातका रेखाहरूका
अर्थ खुल्दै जान्छन् !
नाङ्गा बाबाका
वरदानको खरानी
निधारमा सजाएर
कतै नढल्ने
कतै नगल्नेजस्ता देखिने
यी दम्भका पहाडहरू
तिनै बाबाका पाउमा
दाम चढाउँदै
शिर चढाउँदै
जीवन केही लम्ब्याउने अभिलाषाले
कहालिँदै
लामो सुस्केरा निकालेर
लम्पसार पर्छन् !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!