-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, अप्रिल २५, २०२२
डाक्टर साहेब !
हामी त रोगी मान्छे
तपाईँकै विश्वास र भरोसामा
उठ भने उठ्छौँ
बस भने बस्छौँ
सास तान भने तान्छौँ
छोड भने छोड्छौँ
जीवन अलिकति लम्बिन्छ कि भन्ने आशाले
तपाईँले लठ्याए लठ्ठिन्छौँ
तपाईँले लडाए लड्छौँ ।
हामी विवश छौँ
त्रसित पनि छौँ
गोजीसँगै प्राणै पनि
उसै रित्तिने पो हो कि ?
यो हाम्रो पीडा
मानव मनले बुझिदिनुहोला
बिन्ती !
सक्कलीको जस्तै पोसाक लगाएका
कोही हुनुहुन्छ भने
नक्कलीले चाहिँ
हामीलाई नचिरिदिनुहोला
त्यो सेतो कोटमा
कालो कहिल्यै नपोतिदिनुहोला !!
प्राणको भिक्षा मागिरहेका
हामीसितै
ठूला ठूला ती भवनका
भाडा नलिइदिनुहोला
बोलीकै पनि काँडा नरोपी
सके मुटुको काँडा झिकिदिनुहोला ।
तपाईँको अपार ज्ञान
त्यो विज्ञान
थोरै भए पनि
हामीमा प्रयोग गरिदिनुहोला
बिन्ती ! बिन्ती !! बिन्ती !!!
डाक्टर साहेब !
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!