-Tirtha Raj Adhikari

माया, नाता र आफन्तहरू

Hollywood Khabar May 25,2022 Comments

-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, मे २५, २०२२

माया,नाता र आफन्तहरू
केवल मौसमी फूल हुन्
शरद् र वसन्तमा
मगमगाएका डालीहरू
हेमन्त, शिशिर र ग्रीष्म याममा
उजाडिएझैँ
यी बिस्तारै किनारा लाग्छन्
हिउँ पग्लिँदै सतहमा बिलाएझैँ
कालचक्रमा यी उसै बिलाउँछन् ।

उप्किन्छन् पालिसे रङहरू
हिजोका आफैँसितका
खै ,कानका शब्दहरू र कपालका रङहरू ?
खै , आँखाका दृष्टि र ओठका मुस्कानहरू ?
खै ,दन्तचमक र पाखुराका तागतहरू ?
खै , गलाका कला र वाक्-विलासहरू ?
खै ,अनुहार , आभा र आशाहरू ?

सबै सबै
कर्कलाको पातको थोपाजस्तै
कहाँ खसिरहेका छन् ?
ऋतु ऋतुका रीतमा
नदीका छालहरूले
किनारा सुम्सुम्याउँदै बगेजस्तै
माया ,नाता र आफन्तहरू
हतारले बग्छन् - कता ?
मेघझैँ गर्जिँदै
बिजुलीझैँ चम्किँदै
हुरीका पातझैँ
हराउँछन् - कता ?

आँगन - परदेशजस्तै हुँदा
ढोकाहरू - बन्द हुन्छन्
भाषा -मौनव्रत बस्छन्
अभिवादन -कुना पस्छन्
छायाले पछ्याउँदैन
रीत यस्तै छ
तिर्खा नमेटिने बालुवातिर
कसले पो हात लम्काउँछ र ?