-तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा, हाल सरस्वतीनगर, काठमाडौॅं-६, जुलाई १२, २०२०
लहराबाट उफ्रेर पहरामा दगुर्दछन्
ठाडा चट्टानका डाॅंडा यिनका निम्ति सम्म छन्
नदीका छालमा पस्दै छाल-छालै रमाउॅंछन्
राखेर पातमा खुट्टा पात अर्कै समाउॅंछन् ।१।
श्रमका पसिना छैनन् तर यी मग्नमस्त छन्
पचाई अरूका दाना बलिया ज्यान हाल्दछन्
उक्ली मन्दिरका छाना आफैं गजुर बन्दछन्
सधैं हजुर भै बाॅंच्ने आंतमै दाॅंत - दाॅंत छन् ।२।
आफ्ना बच्चाहरू च्यापी झम्टन्छन् अरूका तिर
प्रेम संसारको भित्र यो कस्तो प्रेमको घर ?
शिवका , बुद्धका आंखाभित्र नंग्रा घुसार्दछन्
फूल जीवन बिर्सेर फूललाई लछार्दछन् ।३।
घर बनाउने सीप छैन क्यै यिनमा तर
अर्काको गुॅंड भत्काई यी सक्छन् पार्न थर्थर
रूप काला कुनै सेता स्वभाव सब एक छन्
क्रूर स्वभाव यै बोकी सबै वानर चल्दछन् ।४।
धमिलो मन यो कस्तो ? अपकर्म निरन्तर !
विधिविधान यो कस्तो ? विधि नै पनि जर्जर !
बजे मन्दिरमा घण्टा , बले पाला सबैतिर
सकेनन् मन यी तान्न उपकार कतैतिर ।५।
सत्मार्ग कामना गर्दै जो गरून् नित्य अर्चना
सक्दैनन् यिनका फेर्न विषालु मन-भावना
दया- द्रोह दुवै बोकी सृष्टि चल्छ अघिल्तिर
हेरी वानरका रूप कर्म रोज्ने कतातिर ? ।६।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!