Headlines

होमकन्ट्री अष्ट्रेलियामा डा. घलेले भने: महाधिवेशन मे ३-५ मा नै हुन्छ, सहभागी हुनुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले अष्ट्रेलियामा रहेका एनआरएनहरुलाइ आउँदो मे महिनामा काठमाडौँमा हुन गइ रहेको महाधिवेशनमा सहभागी भएर संघलाई सहि बनाउन योगदान गर्न अपिल गरेका छन्।

सिडनीमा बुधबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका डा घलेले लामो समय देखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गर्ने एक अपूर्व अवसर आएको बताए।

गत अप्रिल २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्ण पाठ पनि प्राप्त भयो। अदालतको फैसलाको ६ महिना पछि अक्टोबर २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो। उक्त निर्देशन प्राप्त भएको ३० दिन भित्र १९ नोभेम्वर २०२४ मा  उच्चस्तरीय समितिको पहिलो बैठक बस्यो।  त्यस संगसंगै ६ महिना भित्र अन्तरराष्ट्रिय साधारण सभा आयोजना गर्नु पर्ने समयावधि पनि शुरु भयो, घलेले  भने।

नोभेम्वर २०२४ यता उच्चस्तरीय समितिको झन्डै एक दर्जन बैठकहरु बसेर सदस्यता खोल्ने, वेबसाइट बनाउने, एनसीसीहरुसंग समन्वय गर्ने काम भै रहेको पनि उनले जानकारी दिए। तपाईं हामीले ठूलो योगदान दिएर बनाएको संघको भवनमा हामीलाई बैठक गर्न दिइएन।  सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय उच्च स्तरीय समिति लाई हस्तान्तरण गर्न दुइ, दुइ पटक पत्र लेखेता पनि अटेर गर्ने काम भै रहेको छ। हामीले निकै असहज परिस्थितिमा पनि महा धिवेशनको तयारी गरि रहेका छौं। म केही पाउनको लागि होइन, संस्थालाई फेरी ट्रयाकमा ल्याउनको लागि सर्वोच्च अदालतको निर्देशन बमोजिम यो जिम्मेवारी बहन गर्न तयार भएको हुँ, उनले भने।

उच्चस्तरीय समितिका अध्यक्ष डा  घलेले आफुहरुको  जिम्मेवारी सर्वोच्च अदालतले दिएको म्यान्डेट भन्दा पनि बढी भएको बताए। यो कानूनी निर्देशन पुरा गर्ने विषय मात्रै नभएर एउटा दीगो तथा प्रजातान्त्रिक संस्था निर्माण  गर्नका लागि  दरिलो ढांचा बनाउने  अवसर पनि हो।  यो महा धिवेशनमा एनआरएनए सम्बन्धी ऐन अनुसार सदस्य बन्न योग्य सबै पंजीकृत सदस्य काठमाडौँमा आएर तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउँ छन्, आफ्नो नेतृत्व चयन गर्न पाउँ छन्। यो नयाँ विधान बनाउन पाउँ छन्। यस्तो अवसर फेरी फेरी आउंदैन।  त्यसैले अलि कति समय खर्च गरेर, समयमै ट्राभेल बुक गरेर मे महिनामा काठमाडौँ आउन म सबै साथीहरुलाई अनुरोध  गर्द छु, घलेले भने। उनले तोकिएको मितिमै महा धिवेशन हुने कुर मा ढुक्क हुन आग्रह पनि गरे।  

अध्यक्ष घलेले ३१ मार्च २०२५ भित्र सदस्यता लिएर  अप्रिल महिनाभित्र  प्रतिनिधिका लागि नाम दर्ता गराउन र मे ३,४ र ५ मा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध पनि गरे।

कार्यक्रममा बोल्दै  एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एमआईएसबाट वितरण हुने सदस्यतामा एनसीसीहरुले प्रमाणिकरण गर्न सक्ने  अधिकार भएकाले सो प्रविधिलाई उच्चस्तरीय समितिको मातहतमा ल्याएमा  सदस्यता वितरण गर्न सहज हुने बताए। उनले सबै एनसीसीले उच्चस्तरीय समितिसंग सहकार्य गर्नु पर्ने पनि बताए।  

एनसिसि अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले डा. घले लगायत उच्चस्तरिय समितिलाई पूर्णरुपले साथ समर्थन गर्न आह्वान गरे। उनले सम्भव भएसम्म सबै पक्षलाई मिलाएर लान सुझाव पनि  दिए। एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव सुवेदीले वर्तमान परिस्थितिमा उच्चस्तरीय समितिले महाधिवेशन गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताए।  उनले  सम्भव भएसम्म सबैलाई साथ लिन अधिकतम प्रयास गर्ने तर तोकिएको समय सिमा  भित्रै  एकताको महाधिवेशन गर्न सुझाव पनि दिए ।

एनसिसि अष्ट्रेलियाका  निवर्तमान  अध्यक्ष नन्द गुरुङले  टुक्रा टुक्रामा विभाजन भएको एनआरएनएलाई सहि दिशामा ल्याउन सर्वोच्च अदालतले दिएको परमादेश अनुरुप बनेको उच्चस्तरीय समितिलाई काम गर्न सबैले सघाउनु पर्ने बताए।  हामी सबैले मिलेर बनाएको संस्था र भवन कसैले कब्जा गर्दैमा काम  रोकिनुहुदैन भन्दै उनले आगामी मे महिनामा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध गरे ।

एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले गैर आवसीय नेपाली संघ सबैको लामो संघर्ष, मेहनत र परिश्रमले गर्दा आजको दिन सम्म आईपुगेको स्मरण गर्दै  संस्थालाई बचाउन सम्भव  भएसम्म लचकता अपनाएर निकास खोज्न सुझाव दिए। उनले  संस्थाको साख जोगाउने  यो अवसर पनि भएकाले डा. घले नेतृत्वको समितिलाई साथ दिएर अघि बढ्न सबैलाई आग्रह गरे।

कार्यक्रममा अष्ट्रेलिया एनएसडब्लुका लागि नेपालका मानार्थ वाणिज्यदूत संजीव शर्मा, एनआरएनएकी पूर्व संरक्षक इन्द्रा बन,  एनआरएन अभियन्ताहरु भोमा लिम्बु, कुशल  केसी, जानकी पौडेल, बिमल भट्टराई, इर्शाद अहमद, भिम खरेल, बिशाल पोखरेल, अच्यूत थपलिया, शेषमणि पाठक, इथान शाक्य लगायत ५० जना भन्दा बढि सहभागीहरुले आफ्नो धारणा राखेका थिए।  उच्चस्तरीय समितिका अध्यक्ष घलेले सहभागीहरुका जिज्ञासाको जवाफ दिएका थिए। अन्तरक्रिया कार्यक्रमको सहजीकरण तथा संचालन एनआरएनए आईसीसीका पूर्व युवा संयोजक एवम्  उपमहासचिव कृष्ण गिरीले गरेका थिए।

Leave a Reply