गैरआवासीय नेपाली संघ बेलायतले आउंदो २३ मार्चमा एकता महाधिवेशन तथा वार्षिक साधारण सभा गर्ने घोषणा गरेको छ। सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशन बमोजिम बेलायत शाखाले अल्डरसटमा महाधिवेशन र साधारणसभा तय गरेको हो।
१६ फेब्रुअरी आइतबार जुममार्फत सम्पन्न कार्यसमिति बैठकले अल्डरसटस्थित प्यालेस ब्याङक्यूटिङ हलमा एकता महाधिवेशन र साधारणसभा गर्ने निर्णय गरेको अध्यक्ष प्रेम गाहामगरले बताए।उक्त महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथी हुने गाहामगरले जनाए। अध्यक्ष गाहामगरले एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी सबै नेपालीमा अपिल गरेका छन्।
उक्त महाधिवेशनको मुख्य एजेन्डामा वंशजको नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खा सम्बन्धि जारी मुद्दा छन् । यी एजेण्डा काठमाडौंमा ३ देखि ५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए आइसीसीको विधानमा समेट्न छलफल र प्रस्तावका लागि एक प्रमुख विषय हुने बताइएको छ। बैठकले डा. भीम पुनको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला छन् भने तीन सदस्यहरु पछि थपिने छ।
बैठकले साधारण सभाका लागि एक मध्यस्थता टोली समेत गठन गरेको छ जसमा डा. भीम पुन (निर्वाचन आयुक्त), एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, एनआरएनए यूके आइसीसी सदस्य ओम थापा काउचा र एनआरएनए यूके संरक्षक भरत रोका छन्। बैठकले यूके एकता महाधिवेशनका लागि सदस्यता दर्ता एवं नवीकरण समयसीमा २२ मार्च, २०२५ तोकेको छ।अन्तर्राष्ट्रिय महाधिवेशनका लागि भने ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्नुपर्ने समयसीमा छ।