गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि सदस्य बन्न एक दिन मात्रै बाँकी रहँदा एनआरएनए अभियन्ताहरूले जति सक्दो चाँडो सदस्य तथा डेलिगेट्स बनेर संस्थालाई प्रजातान्त्रिकरण र सुधार गर्न योगदान दिन आह्वान गरेका छन्।
एनआरएनए उच्चस्तरीय समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले उच्चस्तरीय समितिले सर्वोच्च अदालतले दिएको जिम्मेवारी पूरा गर्न एकदमै उत्तरदायी भएर काम गरिरहेको बताए।
आर्थिक समितिका संयोजक पनि रहेका आचार्यले डेलिगेट्स दर्ताका लागि १ सय डलर अर्थात् १४ हजार नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने निर्णय गरिएको बताए। उनले २२ अप्रिल भित्र डेलिगेट्स बन्न निवेदन दिन पनि अपिल गरे। “अझै पनि एक ठाउँमा बसेर समस्या समाधान गरेर अधिवेशन गरौँ। हामीले सहमति गरेर एक भएर गैरआवासीय नेपालीहरूका मुद्दा अगाडि बढाउनु पर्ने छ । फेरि पनि व्यक्तिगत स्वार्थ भन्दा पनि संस्थालाई एकताबद्ध बनाउने विषयमा सोची दिनुहोला, उनले भने।
उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनको तयारी तीव्र रूपमा भई रहेको बताइन् । सुरुका दिनमा हामीले सचिवालय हामीलाई हस्तान्तरण हुन्छ भनेर आशा गरेका थियौँ। तर त्यो नभएपछि अहिले हामीले अफिसको स्पेस पनि बढाएका छौँ। सदस्यता एप्रुभलमा ढिलाइ भएकोमा अहिले हामी पूर्ण रूपमा तयार भएका छौँ।यस विषयमा अन्यथा नसोचिदिनुहुन अनुरोध गर्दछु, उनले भनिन । सदस्य सचिव गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा १४ हजार भन्दा बढीले सदस्यताको लागि निवेदन दिएको र डेलिगेट्सका लागि २ सय भन्दा बढी निवेदन आएको बताइन्।