युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (UNDO) ले रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारको विपद् राहत तथा पुनर्स्थापना कोषमा रु. ५१,००,५५५ (एकाउन्न लाख पाँच सय पचपन्न रुपैयाँ) जम्मा गरेको छ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा दर्ता रहेको ‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन’ (UNDO) ले नेपाल सरकारले राष्ट्रिय विपद् राहत तथा पुनर्स्थापनाका लागि गरेको आह्वानलाई समर्थन गर्दै पहिलो चरणमा उक्त रकम हस्तान्तरण गरेको हो।
UNDO का सभापति सोनम लामाले परराष्ट्रमन्त्री माननीय शिशिर खनाललाई सेप्टेम्बर ११, २०२६ शुक्रबारका दिन एक औपचारिक पत्रमा सहित सो सहयोग रकम नेपाल सरकारको सम्बन्धित विपद् राहत तथा पुनर्स्थापना कोषमा जम्मा गरिएको भौचरसमेत पत्रसँगै परराष्ट्र मन्त्रीलाइ हस्तान्तरण गरेको हो।
विश्वव्यापी अभियानबाट एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य
UNDO ले बाढी प्रभावितहरूको सहयोगका लागि विश्वभर रहेका आफ्ना राष्ट्रिय संगठनहरूको समन्वयमा राहत संकलन अभियान सञ्चालन गरिरहेको छ। संस्थाले यस मानवीय अभियानमार्फत रु. १ करोड संकलन गर्ने लक्ष्य निर्धारण गरेको जनाएको छ।
पहिलो चरणमा ५१ लाख ५ सय ५५ रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गराइसकेको छ। UNDO ले विश्वका विभिन्न मुलुकमा रहेका आफ्ना राष्ट्रिय संगठनहरूमार्फत सहयोग संकलन अभियान निरन्तर जारी राखेको छ।
आगामी चरणमा संकलित हुने थप रकमसमेत नेपाल सरकारको निर्देशन र परराष्ट्र मन्त्रालयको समन्वयमा सम्बन्धित निकायमार्फत विपद् प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि उपलब्ध गराउने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ। सँस्थाका सभापति लामाले यसका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक मार्गदर्शन तथा समन्वयको अनुरोधसमेत गरेका छन्।
UNDO ले विश्वभर रहेका नेपाली मूलका व्यक्ति तथा विदेशमा बसोबास गर्ने नेपालीहरूलाई एकीकृत गर्दै उनीहरूको ज्ञान, सीप, स्रोत र सामर्थ्यलाई नेपाल तथा नेपालीको प्रगतिमा जोड्ने उद्देश्यका साथ काम गर्दै आएको जनाएको छ। रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि संस्थाले यही उद्देश्य अनुरूप विश्वव्यापी रूपमा सहयोग संकलन अभियान सुरु गरेको हो।
सभापति लामाले विपद्को संवेदनशील घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको राहत, उद्धार तथा पुनर्स्थापना प्रयासप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय विपद्का समयमा देश र नागरिकका साथमा रही नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य र समन्वय गर्न UNDO सदैव प्रतिबद्ध रहने बताएका छन्।
य्ससका साथै UNDO ले सरकारलाई उपलब्ध गराइएको सहयोग रकम विपद्बाट प्रभावित व्यक्ति तथा समुदायको हितमा प्रभावकारी रूपमा उपयोग हुने विश्वाससमेत व्यक्त गरेको छ।
युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (UNDO) एक गैर-राजनीतिक, गैर-नाफामूलक विश्वव्यापी नेपाली डायस्पोराहरुको संस्था हो। संस्थाले विश्वभर छरिएर रहेका नेपाली डायस्पोरालाई एकताबद्ध र सशक्त बनाउँदै उनीहरूको ज्ञान, सीप, स्रोत तथा क्षमतालाई नेपाल र नेपालीको समृद्धि तथा विकाससँग जोड्ने उद्देश्य राखेको छ।
