Headlines

जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५ टोरन्टोमा आयोजना हुँदै

प्रेस विज्ञप्ति

टोरन्टो, २१ फेब्रुअरी २०२५ – क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाले दक्षिण एशिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा जातिविहीन विश्वका लागि विश्व सम्मेलन २०२५ आयोजना गर्न लागेको छ। यो कार्यक्रम २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा हुनेछ, जसको मुख्य विषयवस्तु “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” रहनेछ।

“विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन्। जातिभेद दक्षिण एशियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,” सम्मेलन आयोजक समितिका  अध्यक्ष डा. द्रोण  रसालीले बताए। यस सन्दर्भमा, यस वैश्विक सम्मेलनले जातीय भेदभाव अन्त्य गर्नका लागि उत्कृष्ट अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउनेछ। साथै, यो सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकायहरू, तथा लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने लक्ष्य राखेको छ।

उक्त सम्मेलनले  सरकारका निकाय, नीति निर्माता, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायी, शैक्षिक अनुसन्धानकर्ता, अध्येता, विद्यार्थी, तथा अभियन्ताहरूलाई एउटै साझा मञ्चमा ल्याई जातीय विभेद तथा अन्य उत्पीडनकारी अभ्यासहरूको उन्मूलनका लागि न्याय र समानताका आधारमा सामूहिक प्रयास कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने अवसर प्रदान गर्नेछ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीति निर्माता, मानव अधिकार रक्षक, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकार, पेशाकर्मी, तथा सामाजिक अभियन्ताहरू कार्यक्रमका सहभागी हुनेछन्।

हालसम्म १५ जना प्रतिष्ठित विद्वान, प्राध्यापक तथा अनुसन्धानकर्ताहरू वक्ताका रूपमा सहभागी हुने पुष्टि भइसकेको छ। हामी आशावादी छौँ कि यो सम्मेलनले सहभागीहरूलाई जातीय विभेदबारे आफ्ना अनुभव, विचार, तथा पहलहरू प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नेछ, जहाँ  खासगरी नेपालमा जातीय भेदभावबारे विशेष छलफल हुनेछ,” सम्मेलन आयोजक  समितिका संयोजक सन्तोष विश्वकर्माले बताए। “यसका साथै, सम्मेलनले विभेदविरुद्धको संघर्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता सुदृढ गर्न मद्दत गर्नेछ।

उक्त सम्मेलनमा जातीय विभेदको  प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडीहरू, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा र तिनको कार्यान्वयन, विभेद अन्त्य गर्न गरिएका विश्वव्यापी प्रयास, ज्ञान हस्तान्तरण, दलितसम्बन्धी अनुसन्धान, जातीय विभेद अन्त्यका लागि सर्वोत्तम अभ्यास तथा समाधानहरूबारे व्यापक छलफल हुनेछ। साथै, संस्थागत विकास, भावी रणनीति, तथा समानता र सामाजिक न्याय प्रवर्द्धन गर्ने उपायहरूबारे पनि  छलफल गरिने छ ।

विश्वभरबाट करिब ३००  जना सहभागी रहने अपेक्षा गरिएको छ।

सम्मेलनमा दर्ता गर्नका लागि कृपया सहयात्रा संस्थाको वेबसाइट https://www.sahayatraintl.com मा जानु होस् ।

यस कार्यक्रमलाई सफल बनाउनका लागि मानव अधिकारका क्षेत्रमा क्रियाशील सम्पूर्ण अभियन्ता तथा संस्थाहरूलाई ऐक्यबद्धता जनाउन र सहभागी हुन हामी हार्दिक आह्वान गर्दछौँ।

आयोजक समिति

जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५

टोरन्टो, क्यानडा

सहयात्रा – सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय गठबन्धन – क्यानडा

https://acrobat.adobe.com/id/urn:aaid:sc:VA6C2:31a0c246-b5b7-445c-878e-0ff98f1431ac

Leave a Reply