Headlines

एनआरएनए क्यानाडा: मे ३-५, २०२५ को अन्तराष्ट्रिय महाधिवेशन अनिबार्य, सदस्यता लिन अनुरोध

मिति: २०८१ फागुन ८ (फेब्रवरी, २०, २०२५)

प्रेस विज्ञप्ति

ग्लोबल गैरआवासीय नेपाली संघ क्यानाडा सुदृढ, पारदर्शी, समावेशी र राजनीतिक हस्तक्षेपमुक्त गैरआवासीय नेपाली संघको पक्षमा दृढ रहेको सबैलाई अवगत छ। तर, पछिल्लो समय संघमा बढ्दो राजनीतिक हस्तक्षेप, भागबण्डा र अपारदर्शी नेतृत्व चयन प्रक्रियाले संघलाई विभाजित गरेको यथार्थ स्पष्ट छ। यसले गैरआवासीय नेपालीको सामाजिक अभियानलाइ कमजोर बनाएको हाम्रो ठहर छ।

पछिल्लो समय संघको कानुनी वैधता, आन्तरिक विवाद र अपारदर्शी नेतृत्व चयन प्रक्रियामा उठेका प्रश्नलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले कानुनसम्मत एकता महाधिवेशन गराउन पूर्व अध्यक्ष डा. शेष घलेज्यूको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। यही समितिको संयोजनमा मे ३ देखि ५, २०२५ सम्म काठमाडौंमा हुने महाधिवेशन अपरिहार्य रहेको र यसको कुनै विकल्प नभएको कुरा स्पष्ट छ।

ग्लोबल गैरआवासीय नेपाली संघ क्यानाडा सुरुदेखि नै संघको एकताको पक्षमा दृढ रहेको छ र आसन्न महाधिवेशनलाई भव्य स्वागत गर्दछ। यस महाधिवेशनले साझा, सशक्त र हस्तक्षेपमुक्त गैरआवासीय नेपाली संघको पुनर्संरचनाको मार्ग प्रशस्त गर्ने विश्वासका साथ, उच्चस्तरीय समितिले यस प्रक्रियामा प्रमुख भूमिका खेल्ने अपेक्षा गर्दछौं।

त्यसैले एनसीसी क्यानाडाले महाधिवेशनमा भाग लिन इच्छुक प्रतिनिधिहरूका लागि सदस्यता लिन खुला आह्वान गरिसकिएको जानकारी गराउन चाहन्छौं। यस सम्बन्धमा विस्तृत जानकारी तथा आवश्यक प्रक्रिया पूरा गर्न, उच्चस्तरीय समितिको सम्बन्धित वेबसाइट https://nrnahlc.com/ लिंकमा गएर जानकारी प्राप्त गर्न सकिने कुरा समस्त गैर आवासीय नेपालीहरूमा अवगत गराउँछौं।

अबको गैरआवासीय नेपाली संघ कस्तो बन्ने भन्ने निर्णय समस्त सचेत, न्यायप्रेमी र एकताप्रेमी गैर आवासीय नेपालीहरूको हातमा छ। त्यसैले, उच्चस्तरीय समितिको नेतृत्वमा हुन गइरहेको आसन्न एकता महाधिवेशनमा सहभागी भई गैरआवासीय नेपालीहरूको हक अधिकार सुनिश्चित गर्ने अभियानलाई सफल बनाउन सबैलाई हार्दिक अपिल गर्दछौं। 

हामीले क्यानाडामा भएका एनआरएनएको अर्को समूहसँग पनि एउटै अधिवेशन गर्नक लागि आवहान र सम्पर्क गरेका छौ। उहाँहरु मध्ये धेरैजनाले सकारात्मक जवाफ दिनुभएको छ। संभवत एउटै अधिवेशन गरेर मे ३-५, २०२५ को अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुनेछौ। अन्यथा उहाँहरु आउनु भएन भने पनि, आउनुहुने सबैलाई जोडेर जान नियमित रुपमा गतिबिधिमा छौं। 

ग्लोबल एनआरएनको तर्फबाट महाधिवेशनमा सक्रिय सहभागिताका लागि सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई आग्रह गर्दछौं।

जय एनआरएन!

अञ्जनी राज भट्टराई–सभापति

गिरी बुढाथोकी – अध्यक्ष

Leave a Reply