Headlines

देउबाको उत्तराधिकारी तिन मध्ये एक, श्रोतका अनुसार

कृष्ण के सी, फेब्रवरी १५,२०२५ 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले रामचन्द्र पौडेललाइ राष्ट्रपति, नेता डा. शेखर कोइराला, नेता कृष्ण सिटौला र नेता प्रकाशमान सिंह सहित सबैलाई केहि न केहि स्थान दिएर आफ्नो स्थान सहज बनाएका छन्। गिभ एण्ड टेकमा सभापति देउबा माहिर मानिन्छन।

कांग्रेसको १५ औं महाधिवेशन गर्ने बर्ष र महिना घडीको टिकटक बज्न थालेको छ। अर्का पक्षका नेता डा. शेखर कोइरालाले देश दौडाहा सुरु गरिसके तर संस्थापन पक्ष सभापति देउबा भने शान्त छन्। उसै पनि देउबा अब सभापतिमा आउन सक्दैनन। त्यसैले उनका पछाडीका नेताहरुमा एक किसिमको होडबाजीको प्रतिस्पर्धा र तनाव चलेको छ। 

आफ्नो निवासमा आएका आकांक्षीहरुको टोलीलाइ उनले ठोस जवाफ दिएनन। उनि यो समय कसरी छक्का दाउ हान्न सकिन्छ भनेर हेर्दैछन्। बिशेषगरी यो समय गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि प्रमुख आकांक्षी बनेका छन्। 

देउबा निकटका अनुसार विमलेन्द्र निधिलाइ गत महाधिवेशनमा उपसभापति मात्र उठ्न भन्दा नमानेकै कारण उत्तराधिकारी बन्ने संभावना छैन। देउबालाई कृष्णप्रसाद सिटौलाको भर नै छैन। प्रकाशमान सिंहको हैसियत सानो रहेछ संभावना रहेन। यी तिनैजना एक किसिमले देउवाका प्रतिस्पर्धी पनि हुन्। उपसभापति पूर्णबहादुर खड्काको हैसियत बिग्रीएको छ। उनको कुनै संभावना नै छैन त्यसैले उनि चुपछन्। त्यसैले यी तिनैजना यो पटक देउबाका उत्तराधिकारी हुनेवाला छैनन। बाँकी रहेका डा. शशांक कोइराला र गोपालमान श्रेष्ठ मात्रै सभापति देउवाका बिशेष पात्र छन्। 

यो पटक सभापति देउबा डा. शेखर कोइरालालाइ सभापती र डा. आरजु देउबालाई उपसभापति बनाएर शक्ति सन्तुलन गरेर आफू राष्ट्रपति बन्ने दाउमा थिए। तर पछिल्लो समय त्यो लाइनले काम गरेन। वर्तमान सरकार, रास्वपा प्रतिको अतिक्रमण, पार्टीको बेथिति सबै कारणले गर्दा डा. शेखर कोइराला धेरै टाढा गैसके।

अब कुरा आउँछ डा. शशांक कोइरालाको। उनि नै देउबाको पहिलो रोजाइमा थिए। देउबा निकटतम भन्छन, पछिल्लो समय डा. देउबालाइ उपसभापति बनाएर कार्यबाहक दिनुपर्ने सर्त थियो। तर तीन कोइराला एकातिर हुने प्रयास नजिकिंदै गर्दा डा. शशांक कोइरालाको नाम पनि विचाराधीनमा पुगेको छ। 

उसैपनि डा. शशांक कोइरालामा दुइ मुख्य कमजोरीका आरोप छन्। त्यसबाट उनि बाहिर आउन नै सक्दैनन भनिन्छ। यहि कारण बिपीपुत्र भएर शक्तिशाली बन्ने संभावना हुँदा-हुँदै पनि उनि बन्न सकेनन र सक्दैनन भन्ने आरोप छ। 

उसो भए गोपालमान श्रेष्ठ नै देउबाका उत्तराधिकारी हुन् त ? यसको जवाफ अहिले सम्म आएको छैन। अबश्य पनि गोपालमान श्रेष्ठ कांग्रेसका कम विवादित नेता हुन्। बरियतामा पनि देउबा पछि पर्छन। पार्टी भित्र पनि पकड राम्रै छ। तर त्यसका लागि पहिला कण्डिशन बुझ्नुपर्छ। गोपालमान देउवाका उत्तराधिकारी हुन् नहुने कारण पनि छैन र हुने नै भन्ने गतिलो संभावना पनि छैन।

श्रोतका अनुसार सभापति देउबा पार्टी बिधानको बिशेष परिस्थितिको ब्याख्या गर्दै पदावधि थप गर्ने पक्षमा छन्। त्यपछि कुनै एउटा क्षेत्रीय पार्टीसँग पार्टी एकीकरण गरेर अर्को एक तहको समय थप गर्ने पक्षमा छन्। त्यो समयसम्म आगामी संसद र स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ।

ति सबैका आधारमा सभापति देउबाले पहिला आफू राष्ट्रपति हुने संभावना हेर्छन। त्यो नभए दोश्रो दाउमा डा. देउबालाइ प्रधानमन्त्री बन्ने संभावना हेर्छन। ति दुवै नभए मात्र तेशो विकल्पमा जान्छन। आफू राष्ट्रपति हुने संभावना हुने भएमा उनि डा. शशांक कोइरालाइ नै अगाडी बढाउँछन् र गोपालमान श्रेष्ठलाइ म्यानेज गर्छन, बाँकीलाइ गिभ एण्ड टेक गर्छन त्यो पक्का छ। 

त्यो नभए अन्तिम विकल्प भनेको उनले डा. आरजु देउबालाइ नै १५ औं माहाधिवेशनमा सभापतिको उम्मेदवार बनाउँछन्। त्यो भने पक्का छ। त्यसैले अहिले डा. देउबा शक्ति सन्तुलनमा दौडधुप गर्दै देश-विदेश गर्दैछिन। 

Leave a Reply