सर्वोच्च अदालतको फैसलाको अपव्याख्या गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) कब्जा गरिरहेको बद्री केसी समूहले अचाक्ली राइंदाईं मे ६, २०२५ मा चिलिम झ्याइँ हुने भएको छ।
एनआरएनए उच्चस्तरीय समितिको आइतबार बसेको १२ औँ बैठकमा उपस्थिति सरकारी प्रतिनिधिहरुले एकताको महाधिवेशनद्वारा निर्वाचित कार्य समिति नै वैधानिक हुने र मे पछि अर्को अधिवेशन आयोजना गर्छु भन्नु सर्वोच्च अदालतको अवहेलना हुने स्पष्ट पारेका छन्।
बैठकमा बोल्दै कानुन मन्त्रालयकी सहसचिव अरुणा जोशीले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएकाले सबै मिलेर एकताको महाधिवेशन गराउनुको विकल्प नभएको बताइन् । उनले समितिलाई काम गर्नका लागि आइपरेका समस्याहरुबारे चासो राखेकी थिइन् । ‘सर्वोच्चको परमादेश हामीले कार्यान्वयन गर्नैपर्छ। तपाईंहरुलाई काम गर्न केके समस्या छ । मन्त्रालयमा लेखेर पठाउनुस् हामी सहजीकरण गरिदिन्छौँ, उनले भनिन् ।
बैठकमा गत वर्षको चैत २१ को फैसलाअनुसार आगामी मे महिनामा तय भएको एकता महाधिवेशनका सन्दर्भमा भएको प्रगतिबारे छलफल भएको सदस्य विनोद कुँवरले बताए । बैठकमा सबै एनसीसीहरुलाई तोकिएको मितिमा अधिवेशन गरेर एकताको महाधिवेशनका लागि तयारी गर्न निर्देशन दिने र तोकिएको समयमा अधिवेशन गर्न नसक्नेको हकमा दोस्रो व्यवस्था गर्ने निर्णय भएको कुँवरले बताए।
यस्तै बैठकमा आर्थिक उपसमितिका संयोजक कुल आचार्यले आर्थिक विषयमा ब्रिफिङ गरेका थिए । समितिको भएका खर्चहरु परराष्ट्रमार्फत जानकारी गराउने पनि बताइएको छ । बैठकमा सचिवालयबाटै काम गर्न आवश्यक सहजीकरणका लागि मन्त्रालयमार्फत नै पहलगर्नेबारे पनि छलफल भएको थियो । कानुनतः सचिवालयबाटै समितिले काम गर्न पाउने भएपनि बद्री केसी समूहले तालाबन्दी गरेकाले समितिले सचिवालय बाहिर बताई काम गर्दै आइ रहेको छ ।
मामाको धन फुपूको श्राद्ध
यसै बीच सर्वोच्चको परमादेश अनुसार एकताको महाधिवेसन गराउन लाग्नु पर्नेमा केसी समूहले क्षेत्रीय सम्मेलनको नाममा संघको कोषको खुलेआम दुरूपयोग गरिरहेको छ। थाइल्याण्डमा भेला भएका केसी पक्षका सहभागीहरुले बैंककमा नाचगान गरिरहेको दृश्य एनआरएनएकै फेसबुकबाट लाइभ गरिएको थियो। कार्यक्रमको लागि नेपालबाट आनन्द कार्की लगायत चर्चित गायकहरुलाई बैंकक लगिएको छ । त्यस्तै सम्मेलन कम्बोडिया र माल्टामा पनि गर्न लागिएको छ। माल्टा सम्मेलनको नाममा मानव तस्करी गर्ने तयारी भै रहेको सूचना प्राप्त भएको भन्दै त्यस्तो गैरकानूनी सम्मेलन नगर्न, नगराउन युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले चेतावानी दिएका छन्।
अभियन्ता लोक दाहालले पनि एनसीसीहरुले सदस्यहरुबाट एक, एक डलर उठाएर पठाएको कोषको चर्को दुरुपयोग केसी पक्षबाट भइरहेको बताए । यसविरुद्ध आफूहरुले निरन्तर आवाज उठाइरहेको बताउँदै उनले नयाँ कार्यसमिति गठन हुनासाथ केसी समूहले गरिरहेको संघको कोषको खुल्ला दुरुपयोगको रजिस्टर्ड अडिटरबाट छानबिन गरिने र उक्त रकम शोधभर्ना गर्न बद्री केसी लगायत उनको टिम विरुद्ध कानूनी कारवाही गरिने पनि बताए ।
मे ३, ४ र ५ मा काठमाडौँमा हुन गैरहेको एकता महाधिवेशनले ५ मे मा नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। त्यसपछि परराष्ट्र तथा सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका प्रतिनिधिको रोहबरमा नयाँ कार्यसमितिले मंगलबार मे ६, २०२५ (२३ बैशाख २०८२) मा बालुवाटारस्थित एनआरएनएको सचिवालयबाट काम सुरु गर्ने छ। मे महिना पछि पनि अर्को अधिवेसन गर्ने प्रयास गरेमा त्यो अदालतको अबहेलना हुने भएकाले बद्री केसी समूहले अक्टोबरमा अधिवेशन गर्ने भनी फैलाई रहेको भ्रममा नपर्न उच्चस्तरीय समितिले अपिल गरेको छ।