सर्वोच्च अदालतको चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन नयाँ वेबसाइट सार्वजनिक गरेको छ।
एनआरएनएको २०२५ मे ३, ४ र ५ मा हुने महाधिवेशनको लागि सदस्यता खुला नगरेका या त्यससंबन्धि गतिबिधिमा नगएका देशका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई सहज बनाउनको लागि नयाँ वेबसाइट https://nrnahlc.com/ मार्फत सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ। यो मितिलाई आवश्यक परे उच्चस्तरीय समितिले थप गर्न सक्नेछ।
एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसीहरु) ले तोकेको शुल्क अनुसार नै निर्धारण गरिनेछ। एनसीसी नभएका देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ। नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३-५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सक्नेछन्।
महाधिवेशनका प्रतिनिधिहरुको लागि यसै वेबसाइटमा मार्च १६ देखि ३१, २०२५ सम्मको लागि दर्ता आवेदन खुला गरिनेछ। प्रतिनिधिहरुको दर्ता शुल्क समितिले पछि निर्धारण गर्नेछ। महाधिवेशनमा प्रतिनिधि हुन इच्छुक व्यक्तिहरूका उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घलेले गैरआवासीय नेपालीहरूलाई सदस्यता लिन र प्रतिनिधि दर्ता गरि सभाभागी हुनको लागि आग्रह गर्नुभएको छ।
नोभेम्बर २०२४ यता बसेका उच्चस्तरीय समितिका बैठकहरूको निर्णय अनुसार सदस्यता खुला गरिएको हो। यस पटक सम्पूर्ण सदस्यहरूले प्रत्यक्ष रूपमा काठमाडौंमा भेला भएर अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि हुन पाउनेछन्। त्यसैगरी आफूलाई मन परेको व्यक्तिलाई नेतृत्वमा चुन्ने ऐतिहासिक अवसर पनि सबै पंजीकृत सदस्यहरुले पाउनेछन्।
त्यसैले, गैरआवासीय नेपाली संघलाई सहि मार्गमा लैजानको लागि सबैलाई सदस्यता लिन डा. घलेले अपिल गर्नुभएको छ। आगामी मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनले एनआरएनएमा निष्पक्षता, पारदर्शिता तथा प्रजातान्त्रिक पद्धतीलाइ स्थापित गर्नेछ। नयाँ विधान तथा नेतृत्व निर्माण गर्न हामी सबैले महाधिवेशनलाई उत्सवको रूपमा मनाउनु आवश्यक छ।
सर्वोच्च अदालतको आदेश अनुसार गठित उच्चस्तरीय समितिले विवाद समाधान गर्दै एनआरएनएको वैधानिक कार्यसमिति निर्माण गर्ने लक्ष्य लिएको छ। समितिले आफ्नो कार्य सम्पादन गर्दा निष्पक्षता, प्राकृतिक न्याय, कानूनी शासन तथा निष्पक्ष निर्वाचनका सिद्धान्तहरूलाई आत्मसात गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। सम्बन्धित जानकारी तथा सदस्यता आवेदनका लागि www.nrnahlc.com मा जान सकिने छ।