Headlines

पूर्व प्रम देउवाद्वारा एनआरएन फाउण्डेशन अध्यक्ष कुँवरलाई म्याग्दी नक्षत्रद्वारा सम्मान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एनआरएन फाउण्डेशनका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनअरएनए) उच्च स्तरीय समितिका सदस्य विनोद कुँवरलाई म्याग्दीको नक्षत्रको रूपमा सम्मान गरेका छन्।

म्याग्दी जिल्ला, बेनी नगरपालिका-४, डाँडाखेतमा जन्मिएका कुँवरले दक्षिण कोरियालाई कर्मथलो बनाएर व्यापार, व्यवसाय र समाजसेवामा उल्लेखनीय योगदान पुर्याएको कारण उक्त सम्मान गरिएको जनाइएको छ। 

आठौं म्याग्दी महोत्सवका अवसरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुँवरलाई उक्त सम्मान गरेका हुन्। त्यसक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बसेर पनि मातृभूमिप्रति सेवामा योगदान पुर्याउने, देशको आर्थिक विकास र समाजसेवामा अद्वितीय भूमिका खेल्नुभएको भन्दै कुवँरको प्रशंसा गरे।

कुँवरले विदेशमा सिकेको ज्ञान र अनुभवलाई नेपालमा उपयोग गर्न विशेष ध्यान दिएका छन्। वैदेशिक लगानी र आधुनिक प्रविधि नेपाल भित्र्याउँदै उनले ऊर्जा, उद्योग र रोजगारीका क्षेत्रमा महत्त्वपूर्ण काम गरेका छन्। उनको नेतृत्वमा निर्माणाधीन धौलागिरी हाइड्रो पावर परियोजनाले म्याग्दी क्षेत्रको विकासलाई गति दिन विश्वास लिइएको छ।

सम्मान समारोहमा अध्यक्ष कुँवरले एनआरएनहरूको नागरिकता र सम्पत्ति खरिदसम्बन्धी रोकिएको कार्यविधिलाई शीघ्र समाधान गर्न सरकारलाई आग्रह गरे। उनले यस विषयमा प्रवासी नेपालीहरूको गम्भीर चासो रहेको उल्लेख गर्दै, यो समस्या समाधान भएमा विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी र विकासका कार्यहरू गर्न थप उत्साहित हुनेछन्, भनेका छन्।

कुँवर हाल धौलागिरी हाइड्रोपावर, हिमालयन सान सोजु, विजे इन्टरनेशनललगायत विभिन्न कम्पनीहरूको अध्यक्ष हुन। उनी एनआरएन फाउण्डेशनका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनअरएनए) उच्च स्तरीय समितिका सदस्य पनि हुन्। त्यसैगरी म्याग्दी प्रवासी संघका संस्थापक पनि हुन। उनको नेतृत्वमा नेपाल र कोरियाबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ।

Leave a Reply