विरासत, विवेक र विकासको सङ्गम भन्ने किरण घिमिरेको नाराले दाङ्गका मतदातामा चर्चा

Spread the love

दाङको माटोमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको बौद्धिक अनुभव बटुलेका किरण किशोर घिमिरे नेपाली कांग्रेसको राजनीतिमा एउटा निष्ठावान् र शालीन नाम हो। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मैदानमा उत्रिँदै गर्दा उनले केवल एउटा राजनीतिक पदको प्रतिनिधित्व मात्रै गरेका छैनन्, बरु एउटा ऐतिहासिक विरासत र समृद्धिको सपनालाई पनि सँगै बोकेका छन्।

उनको राजनीतिक यात्रा कुनै संयोग मात्र होइन, बरु एउटा बलियो पारिवारिक पृष्ठभूमिबाट सिञ्चित सङ्कल्प हो। ऐतिहासिक ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी, पिता स्व. ऋषिराम शर्मा घिमिरे र निरङ्कुश पञ्चायत विरुद्धको लडाइँमा होमिएका दाजु कृष्ण किशोर घिमिरेको पदचाप पछ्याउँदै उनी  वि.सं. २०३६ सालदेखि नै लोकतान्त्रिक मूल्य र मान्यताको संवाहक बने । वि.सं. २०४६ को जनआन्दोलनपश्चात् मजदुरहरूको हकहितका लागि ट्रेड युनियन आन्दोलनमार्फत उनले देखाएको सक्रियता आज पनि उत्तिकै सान्दर्भिक छ।

किरण किशोर घिमिरे राजनीतिज्ञ मात्र हैनन्,  एक कुशल प्रशासक र सफल उद्यमी पनि हुन् । उनले  अर्थशास्त्रमा स्नातकोत्तर र द नेदरल्याण्ड्सको मास्ट्रिच स्कुल अफ म्यानेजमेन्टबाट पोस्ट ग्र्याजुएट डिप्लोमा गरेका छन्। जनकपुर रेलवेको सिइओ र नेपाल यातायात संस्थानको प्रबन्धक लगायत झन्डै १८ वर्ष लामो सरकारी सेवाको उनको अनुभवले  उनको प्रशासनिक क्षमतालाई प्रमाणित गरिसकेको छ ।

समाजसेवा र उद्यमशीलताको सेतु उनले समाजलाई केबल नारा मात्र दिएका छैनन्, बरु कर्ममार्फत परिवर्तनको अनुभूति दिलाएका छन् । दाङमा स्वास्थ्य र शिक्षाको ज्योति छर्न दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापना होस् वा वन विकास र उद्योगमार्फत स्थानीयलाई रोजगारी दिने पहल, उनको कर्मशीलता लोभलाग्दो छ । करिब २५ हजार नेपालीलाई सुरक्षित रोजगारीको मार्ग प्रशस्त गरिदिने उनको उद्यमी छविले आर्थिक समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेको छ ।

बहुभाषिक दक्खल, अन्तर्राष्ट्रिय भ्रमणको अनुभव र ग्रास रुटको राजनीतिक बुझाइ भएका घिमिरे नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । दाङ क्षेत्र नं. २ का मतदाताका लागि उनी एक यस्ता उम्मेदवार हुन्, जसको लागि राजनीति सत्ताको सिँढी होइन, सेवा र विकासको सार्थक माध्यम हो ।

निष्कलङ्क छवि, उच्च शैक्षिक पृष्ठभूमि र स्पष्ट विकासका एजेन्डा बोकेका किरण किशोर घिमिरे फागुन २१ गतेको निर्वाचनमा परिवर्तन र समृद्धिको पर्यायका रूपमा खडा भएका छन् । दाङ – २ का मतदाताले उनको एजेन्डालाई स्पष्ट समर्थन गर्ने उनले विश्वास लिएका छन्।