नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेसले विदेशस्थित सबै जनसम्पर्क समितिको अधिवेशन यसै वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार, नेपाली जनसम्पर्क समिति समन्वय विभागले सबै समितिलाई अधिवेशन प्रक्रिया सुरु गर्न लिखित निर्देशन दिएको छ। समन्वय विभागको पत्र प्राप्त भएपछि सोही पत्र अनुसार नै समितिले अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।
पार्टीको पत्र प्राप्त भएपश्चात अगष्ट १९, २०२५ मंगलवार समितिको केन्द्रीय नेतृत्व र च्याप्टर नेतृत्वको संयुक्त बैठक सम्पन्न भएको छ। समितिका सभापति आनन्द विष्टको सभापतित्वमा सम्पन्न बैठकले पार्टीले गरेको निर्णय र सोही बमोजिम प्रेषित लिखित निर्देशनको स्वागत गर्दै अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसको गत असार १६-२३ सम्पन्न केन्द्रीय समिति बैठकले अधिवेशन हुन बाँकी रहेका सबै जनसम्पर्क समितिहरुको अधिवेशन र नयाँ नेतृत्व चयन ६ महिनाभित्र गर्न निर्देश गर्ने निर्णय गरेको थियो। सोही अनुसार समन्वय विभाग प्रमूख किरणराज शर्मा पौडेलले अधिवेशन हुन बाँकी रहेका सबै जनसम्पर्क समितिलाई लिखित पत्राचार गरी पार्टी निर्णय बारे जानकारी गराउँदै अधिवेशन सुरु गर्न निर्देशन दिनु भएको थियो।
पत्रमा सदस्यता वितरण, नवीकरण र अधिवेशनको कार्य तालिका तय गरी केन्द्रमा पेश गर्न पत्रमा निर्देशन दिइएको छ। जस अनुसार आगामी असोज मसान्तसम्म सदस्यता वितरण र पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरी केन्द्रमा पेश गर्नुपर्ने र अधिवेशन हुन बाँकी देशका जनसम्पर्क समितिहरुको अधिवेशन पौष मसान्तभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ।
सोही निर्देशन अनुसार, नेपाली जनसम्पर्क समितिले अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णयसंगै अमेरिकामा रहेका आम कांग्रेसजनमा व्यापक उत्साह देखिएको छ। समितिले अब सदस्यता र पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरण खुला गर्ने निर्णय गरेको छ।
मंगलवारको बैठकमा सहभागी केन्द्रीय समिति र च्याप्टर नेतृत्वमा रहेका अध्यक्षहरुले अधिवेशन सुरु गर्ने बाटो खुला भएको भन्दै आफुहरु अधिवेशन सफल बनाउन सक्रियतापूर्वक लाग्ने धारणा व्यक्त गरे। बैठकमा समितिका सभापति विष्टले भने, ‘साथीहरु अब आजदेखि नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशनको प्रक्रिया सुरु भएको सबैलाई जानकारी गराउँदछु र सबैलाई सदस्यता वितरण र पार्टी संगठनको निम्ति सक्रिय भएर सहयोग गर्न अपील समेत गर्दछु।’
बैठकको समापन गर्दै कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहिसकेका समितिका सभापति आनन्द विष्टले अधिवेशन प्रक्रिया सुरु गर्न पार्टीले गरेको निर्देशनको स्वागत गर्दै सदस्यता वितरण, चाप्टर अधिवेशन र अधिवेशनसंग सम्बन्धित अन्य प्रक्रियाहरुलाई कार्य तालिका बनाएर अघि बढ्ने निर्णय सुनाएका थिए।
हाल अमेरिकाका विभिन्न राज्य तथा शहरमा समितिको २८ वटाभन्दा बढी च्याप्टर समिति रहेको छ। मंगलवारको संयुक्त बैठकमा समितिका वरिष्ठ उप सभापति धनन्जयनरसिंह केसी, उपाध्यक्षहरु धर्मराज श्रेष्ठ, भगवान मैनाली र सीपी पौडेल, महासचिव मुनिन्द्र नेम्बाङ्ग, सचिव इश्वर सापकोटासहित प्रचार विभाग प्रमूख एवं केन्द्रीय सदस्य गौतम दाहाल र केन्द्रीय सदस्यहरु गोपाल विश्वकर्मा, किलन राई, ज्ञानेन्द्रराज कार्की, गोकुल ढकाल, गोविन्द लम्साल, ओम भट्टराइ र चन्द्र धिताल सहभागी थिए।
यसैगरी न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना, मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरी,लस एञ्जलस च्याप्टरका सभापति मदन पाठक, कोलोराडो च्याप्टरका सभापति गणेश भण्डारी, नर्थ क्यारोलिना च्याप्टरका सभापति डाक्टर चिरन्जीवी भट्टराई, लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोला, डाल्लास टेक्सास च्याप्टरका सभापति ज्ञानेन्द्रराज कार्की, सन् फ्रान्सिस्को च्याप्टरका कार्यवाहक सभापति नारायण खनाल र भर्जिनिया च्याप्टरका कार्यवाहक सभापति यम सिटौलालगायतको सहभागिता रहेको थियो।
समितिका सभापति आनन्द विष्टले अब अधिवेशन सम्बन्धी अन्य प्रक्रियाका लागि पुन चाडै केन्द्रीय समितिको बैठक बसेर छलफल गर्ने र सोही बैठकको निर्णय अनुसार अघि बढ्ने जानकारी दिनु भएको छ।
