बिचरो आँपको बोट!

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुन १५, २०२४

बोटमा
लटरम्म फलेका आँप
पाकेका छन्
रसिला र मीठा छन् !

यिनै फलहरूमाथि
मान्छेहरूको
विरोध पनि उत्तिकै छ !

कोही भन्छ-
मलाई त आँप मनपर्दैन
यस रूखमा त
लिची फल्नुपर्ने
मेरो रुचिको
प्रिय फल त लिची हो !

कोही भन्छ-
मलाई त
आँप सम्झियो कि
दिक्क लाग्छ
यस रूखमा त
अम्बा फल्नुपर्ने
मलाई मनपर्ने फल त
अम्बा हो !

कोही भन्छ –
खान त के मलाई त
आँपको बास्ना नै
मनपर्दैन
यस रूखमा त
स्याउ फल्नुपर्ने
मलाई मनपर्ने फल त
स्याउ हो !

कोही भन्छ
मलाई त आँप देख्यो कि
रिस उठ्छ
खानै पर्दैन
देखे पनि पेट दुख्छ
यस रूखमा त
सुन्तला फल्नुपर्ने
मेरो रुचिको फल त
सुन्तला हो !

यी सबैको अप्रिय फल
आँप भएपछि
फल पाकेर के ?
फल रसिलो भएर के ?
फल गुलियो भएर के ?
मान्छेहरू यस रूखले
आफ्ना इच्छाका फलहरू
नफलाएको रिसमा
रूखै ढाल्न
कोही बन्चरो चलाउँदै छन्
हाँगा काट्न
कोही खुकुरी र खुर्पा चलाउँदै छन्
जरा उखेल्न
कोही कोदालो मच्चाउँदै छन् !!

Comments
Related News
Latest Post