नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षको यहि साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सातै (७) प्रदेशका सभापति, ७७ वटा जिल्लाका सभापति र १६५ जना जना प्रतिनिधि सभा क्षेत्रीय समिति सभापतिहरुलाई सहभागिताका लागि निमन्त्रणा पत्र पठाएको छ ।
भेलाका प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार उनीहरूलाई आफू सहभागी हुन र आफ्नो क्षेत्रमा रहेका पार्टीका निकायको नेतृत्व गरेका र यसअघि नेतृत्व गरेकाहरूलाई पनि सहभागी गराउन आग्रह गरिएको जानकारी दिए।
पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरूको राय लिने उद्देश्यले भेला आयोजना गरिएकोले उनीहरूलाई बोलाइएको जानकारी दिए । भेलामा महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पूर्वमन्त्री, सांसद, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरूलाई समेत सहभागी गराइने विश्वकर्माले बताए ।
त्यसैगरी, महानगरपालिका, नगरपालिका र गाउँपालिका समितिका सभापतिहरूलाई समेत उपस्थित हुने वातावरण बनाइदिन सम्बन्धित क्षेत्रका नेतृत्वलाई पठाएको पत्रमा आग्रह गरिएको छ ।

