काठमाडौं, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले बिनोद कर्प अन्तर्गत सञ्चालनमा रहेका उद्योग तथा वेयरहाउस स्थलको मङ्गलवार अवलोकन गरेका छन । उक्त अवसरलाई बिनोद कर्पले गौरवपूर्ण रूपमा लिँदै राजदूतको उपस्थितिलाई उच्च महत्व दिएको जनाएको छ ।
अवलोकनका क्रममा बिनोद कर्पको भगिनी संस्था एनके कस्मेटिक्स प्रा.लि.ले उत्पादन गर्दै आएको ओरा कोरिया कस्मेटिक्सको उत्पादन प्रक्रिया प्रस्तुत गरिएको थियो । साथै कम्पनीद्वारा आयात तथा वितरण गरिँदै आएका कोरियाली ब्रान्डहरू नोंगशिम, लोट्टे तथा नेपालमै उत्पादन भइरहेको सान सोजु लगायतका उत्पादनहरूको पनि जानकारी गराइएको थियो।
राजदूत पार्क ताई योङले नेपालमा कोरियाली प्रविधि र गुणस्तरमा आधारित उद्योग विकासको सम्भावना उच्च रहेको उल्लेख गर्दै उत्पादन विस्तार र निर्यात प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताएका छन्। उनले विशेषगरी कोरियामा सीप हासिल गरेर नेपाल फर्किएका जनशक्तिलाई उद्योग तथा उत्पादन क्षेत्रमा जोड्दै व्यवसाय विस्तार गर्न प्रेरित गरेका छन्। साथै यस्ता पहलहरूलाई सफल बनाउन कोरियाली राजदूतावासबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष विनोद कुँवरले पछिल्ला केही वर्षयता नेपालमा विभिन्न उत्पादनमूलक तथा उद्योगसम्बन्धी परियोजनाहरू अघि बढाएको उल्लेख गर्दै देश विकास भए मात्र जनताको समृद्धि सम्भव हुने बताएका छन । उनले स्वदेशमै उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात विस्तारमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखेका छन ।
कुँवरले कोरियाली राजदूत पार्क ताई योङप्रति उद्योग अवलोकन, सुझाव र सहकार्यको प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन। बिनोद कर्पले कोरियाली प्रविधि र गुणस्तरलाई आत्मसात गर्दै नेपालमै उत्पादन गरी दक्षिण एसियाली देशहरूमा निर्यात गर्ने दीर्घकालीन रणनीति अघि बढाएको जनाएको छ। यस पहलबाट देशमा रोजगारी वृद्धि, उत्पादन विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
