राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसंग बालुवाटारमा भेटघाट गरेका छन्। सो अबसरमा प्रधानमन्त्री कार्कीले रास्वपालाई बहुमत ल्याएकोमा बधाई ज्ञापन गरेकी छन् भने सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास पाएकोमा बधाई र धन्यवाद ज्ञापन गरे।
प्रधानमन्त्री कार्कीले युवाहरूसँग देशलाई मुस्कान ल्याउन सुझाव दिँदै इमानदार कामबाट आलोचनालाई जवाफ दिनुपर्ने बताइन। सभापति लामिछानेले सरकारले गरेका निर्णयमा आपत्ति नरहेको र सरकारलाई पूर्ण समर्थन गर्ने स्पष्ट पारेका छन्। उनले आगामी दिनमा निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको पनि अपेक्षा राखेको बताए।
सो अबसरमा सभापति लामिछानेले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु।’
सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नहुने, ‘सरकार भनेको सरकार नै हो । अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन, अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ। त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौं।’
