नेपाली लोक संस्कृतिको पहिचान र १३ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

Spread the love

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एक विशुद्ध सामाजिक संस्था हो। सन् १९९८ मा स्थापना भएको यस संस्थाले दुई दशकभन्दा बढी समयदेखि नेपाली लोक नृत्य, संगीत, परम्परा र सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने अभियान निरन्तर रूपमा अघि बढाउँदै आएको छ।

सन् २०१२ देखि दक्षिण कोरियामा केन्द्रीय कार्यालय रहेको Federation of International Dance Festivals (FIDAF) को सदस्य बनेपछि एभरेष्ट नेपाल कल्चरल ग्रुपले अन्तर्राष्ट्रिय स्तरमा लोक सांस्कृतिक आदान–प्रदानमा अझ सक्रिय भूमिका निर्वाह गर्न थालेको हो। सन् २०२४ मा नेपालमा आयोजना गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको व्यवस्थापन उत्कृष्ट भएको ठहर गर्दै हालै दक्षिण कोरियाको छनान शहरमा आयोजित विशेष कार्यक्रममा संस्थालाई तथा संस्थाका अध्यक्ष आरसी कोइराला (रामचन्द्र कोइराला) लाई व्यक्तिगत रूपमा सम्मानित गरिएको थियो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष तथा १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ का संयोजक आरसी कोइरालासँग समसामयिक विषयमा विस्तृत कुराकानी गरेका छन्।

लोक संस्कृतिको संरक्षण नै संस्थाको मूल उद्देश्य

अध्यक्ष कोइरालाका अनुसार एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लोक संस्कृतिप्रति समर्पित केही संस्कृतिप्रेमीहरूको सामूहिक प्रयासबाट स्थापना गरिएको संस्था हो। “लोक संस्कृति र लोक नृत्यको प्रवर्द्धन गर्नु नै हाम्रो मूल लक्ष्य हो,” उनी भन्छन्, “२००२ देखि प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्दै आएका छौं, र यो निरन्तरता नै हाम्रो सफलताको मुख्य आधार हो।”

उनका अनुसार संस्थाको नेतृत्वमा नेपाली सांस्कृतिक टोलीले हालसम्म विश्वका १०० भन्दा बढी अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाहरूमा सहभागिता जनाइसकेको छ। “जहाँ–जहाँ नेपाली टोली पुगेको छ, त्यहाँ नेपाली लोक नृत्य र संस्कृतिले गहिरो छाप छोडेको छ,” उनी भन्छन्।

सांस्कृतिक पर्यटन प्रवर्द्धनमा मेलाको भूमिका

एभरेष्ट नेपाल कल्चरल ग्रुपको आगामी कार्यदिशा सांस्कृतिक आदान–प्रदानको माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय पहिचान अझ फराकिलो बनाउँदै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु हो। नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले यहाँको लोक संस्कृति आफैंमा पर्यटकका लागि ठूलो आकर्षण रहेको कोइरालाको भनाइ छ।

निर्वाचनका कारण मिति परिवर्तन

१३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरुमा फाल्गुण १५ देखि २४ गतेसम्म आयोजना गर्ने योजना थियो। तर मुलुकमा आम निर्वाचन सोही अवधिमा तय भएपछि र निर्वाचन आयोगको औपचारिक अनुरोध अनुसार मेला आयोजना गर्न उपयुक्त नहुने ठहर गर्दै मेलाको मिति चैत्र ५ देखि १४ गतेसम्म सारिएको हो। “लोकतान्त्रिक प्रक्रियाप्रति सम्मान गर्दै हामीले मिति सार्ने निर्णय गरेका हौं,” कोइराला भन्छन्।

अन्तर्राष्ट्रिय सहभागिता र तयारी

मिति परिवर्तनले केही व्यवस्थापकीय चुनौती आए पनि अधिकांश विदेशी कलाकार समूहहरूले नयाँ मितिअनुसार सहभागिता सुनिश्चित गरिसकेका छन्। इस्टोनिया, पोल्याण्ड, जर्मनी, इजरायल, बंगलादेश, बोत्स्वाना, भारत, दक्षिण अफ्रिका, टर्की, ताइवान लगायत १२–१५ देशका ३५० भन्दा बढी कलाकार नेपाल आउने तयारीमा छन्। मेला काठमाडौं, पोखरा, काभ्रेको पाँचखाल, पनौती लगायत विभिन्न स्थानमा आयोजना हुनेछ।

अन्त्यमा

“लोक संस्कृति देशको पहिचान हो,” अध्यक्ष कोइराला भन्छन्, “यसको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व हो।” सरकार, निजी क्षेत्र र सम्पूर्ण नेपाली समाजको सहकार्य भएमा यस्तो अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान अझ प्रभावकारी हुने उनको विश्वास छ।