आदरणीय अमेरीकाबासी एनआरएन दाजुभाई दिदी बहिनीहरु,
अहिले हामी अमेरिकन नेपालीहरु सामाजिक संजालमा बिभिन्न समुहको नाममा एनआरएनए अमेरिका भित्रको नेतृत्व प्रचारबाजी, एकले अर्कालाई गाली गलौच र सामुहिक राजिनामा जस्ता दैनिकी पोष्टहरु हेरिरहेका छौ।
ज्यादै दुखका साथ यो भन्नै पर्छ कि सानो चित्त भएका नेतृत्वबर्गबाट संस्थागत डेलिभरीमा असफल हुनु त थियो नै, एनआरएनको छबी पनि धमिलो बनेको छ। यस निस्फल नेतृत्व छनौट गतिबिधिमा अमुक दर्शक झैं टुलुटुलु हेरेर बस्नुपरेकोमा यहांहरु सबैप्रति म ब्यक्तिगत रुपमा क्षमा प्रार्थी छु तर आज केही बोल्नुपर्ने आवश्यकता भने महसुस भएको छ।
२०१४ पछि प्रजातान्त्रिक ढंगले नेतृत्व चयन गर्न शुरु भएको एनआरएनए अमेरिका पटक पटक बिचलनको घडीबाट गुज्रेको छ। कारण एउटै थियो- बिधिवत र सहज ढंगबाट चल्नपर्ने सामाजिक संस्थामा नियतपुर्ण बाहिरी हस्तक्षेप र स्वच्छ नेतृत्व छनौट तथा हस्तान्तरण (Fair selection and transfer of leadership) मा ब्यक्तिगत ईगो सहितको अबरोधात्मक गुटबन्दी।
“नेपालीद्वारा नेपालीको लागि” भन्ने नारा बोकेको एनआरएनए अभियानमा हामी संस्थागत मर्म बुझेको र एनआरएनका मुद्दा कार्यान्वयन गर्न सक्ने नेतृत्वको खोजीमा थियौं। हामी झिना मसिना पदिय र बिरासती कुरामा नअल्झिएर नयां पुस्तालाई प्रोत्साहन गर्दै हाम्रा सदस्यको क्षमतामा बृद्दी र नेपालको नेतृत्व वा जनता संग आम्ने साम्ने खडा भएर “हाम्रो लागि यो बाटो बनाऊनु भयो भने हामी नेपालको लागि त्यो गर्न सक्छौ” भन्ने कुरा डटेर पस्कन सक्नुपर्थ्यो।
आज सम्म हामी त्यसो गर्न सकेनौ किनभने हामीले नजानेको कुरामा पनि छलांगमार्ने अभिनय गर्यौं र गुटगत रमाईलोमा रोडम्याप बिहीन नेतृत्वको दाबी गर्यौं। काम गरेका र क्षमतावान लगनशील ब्यक्तित्वलाई अगाडी बढन न प्रोत्साहन गर्यौं न साथ नै दियौं। केही ढिला भएपनि समय बितेको भने छैन।
आऊनुहोस, एकचोटी फेरी हाम्रो उर्जालाई संचय गर्दै एनआरएनए लाई अमेरिकामा नेपालीको लागि स्वच्छ प्ल्याटफर्म को रुपमा पुनर्निर्माण गरौं। अलिकति गार्हो काम भनेको एऊटै छ – त्यो हो, पहिलो पंक्तिमा बसेका हालका सबै जना नेतृत्वबर्ग दुई कदम पछाडी हटने आंट गर्नु। बांकी जिम्मेवारी बहन गर्न यो समाजका लगनशील बर्ग तैयार छन।
अबको रोडम्याप एऊटै छ – “सफा मन” देखि “प्रारम्भिक छलफल” हुदैं “सहकार्य”। यहां न कोही ठुलो छ न सानो। छ त केबल नेपालीको एकमात्र बराबरी संस्था-एनआरएनए अमेरिका। ल एउटा काम गरौं । भरे सफा मन (non-political unbiased hangover) लिएर निद्रामा जांऊ। भोलि बिहान ऊठेर अर्को मित्रलाई फोन गरौं र भनौं “I am sorry”. हेर्नुहोस, छलफलको ढोका आफैं खुल्छ र पर्सि सहकार्य भईहाल्छ।
आऊं, बलियो एनआरएनए अमेरिका निर्माणार्थ स्वच्छ मनले साथ र सहयोग गर्न हामी सबै तत्पर रहौं। सबैमा हार्दिक शुभकामना।
जय एनआरएनए!
सुर्य लम्साल
अध्यक्ष
एनआरएनए अमेरिका
थप जनार्करीको लागि: https://nrnamerica.org/
