Headlines

रास्वपा सभापति लामिछानेमाथि सरकारले संगठित अपराध गर्यो:रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई विवेकका दृष्टिबाट अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष रास्वपाले निकालेको छ। पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानुनी पालना गर्न बाध्य भए पनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो विषय विधिको शासनप्रति आस्था राख्ने नागरिकका लागि चिन्ताको विषय बनेको पनि रास्वपाले बताएको छ ।

मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘वेल सुनुवाइ’ मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकूल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको छ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ ।

राज्यले नै सभापति लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत जनतामा गड्दै गएको निष्कर्ष आफ्नो पार्टीले निकालेको झाले बताएका छन् । ‘रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ, ‘रास्वपाले भनेको छ ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियानको सञ्चालन गर्ने झाले बताए । यस्तै, भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दैै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशन समेत दिएको छ । केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट र केन्द्रीय सदस्य अनिल केशरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा अनुमोदन गरेको छ ।

Leave a Reply