जनवरी २७, २०२५।नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८औं साधारण सभा संयुक्त राज्य अमेरिकाको नेभाडा राज्यस्थित लस भेगस सहरमा हुने भएको छ । नेजा कार्यसमितिको जनवरी २५, २०२५ मा बसेको २०औं बैठकले नेजाको नवौं अधिवेशन यही मे १० र ११, २०२५ मा गर्ने निर्णय गरेको हो ।
बैठकले सो अधिवेशन व्यवस्थापनका लागि नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको संयोजकत्वमा सोही क्षेत्रमा रहनुभएका नेजा कार्यसमिति सदस्यद्वय हेमराज बराल र ईश्वरी न्यौपाने सदस्य रहेको व्यवस्थापन समिति गठन गरेको छ । बैठकले व्यवस्थापन समितिलाई अधिवेशन व्यवस्थित र सफल बनाउनका सबैलाई आ-आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न अनुरोधसमेत गरेको छ ।
साथै, पश्चिम क्षेत्रमै रहनुभएका नेजाका कोषाध्यक्ष जानु पङ्गेनीलाई अधिवेशनलक्षित आर्थिक समितिको समेत जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैगरी, नेजाको नवौं अधिवेशनको मिति र स्थान तय भइसकेको हुँदा सो अधिवेशनमा भाग लिनका लागि विधानत: अधिवेशन हुने मितिको ३ महिनाअगाडि नै नयाँ सदस्यता एवं सदस्यता नवीकरण गरिसक्नुपर्ने व्यवस्था भएको हुँदा नेजाको नयाँ सदस्यता एवं सदस्यता नवीकरण गर्ने मिति यही फेब्रुअरी १०, २०२५ सम्म रहेको छ । यसका लागि सम्बन्धित सबैलाई समयभित्रै नयाँ सदस्यता एवं सदस्यता नवीकरण गर्न नेजाले अनुरोधसमेत गरेको छ ।