कांग्रेस नजिक डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शराम कोइरालाले कानुन व्यवसायीहरूको अनुगमन र नियमन गर्ने संस्था नेपाल बार काउन्सिलको बागमती प्रदेशको पार्षद्का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट भएतापनि आफू स्वतन्त्र कानुन ब्यबसायी भएको दावी सहित उम्मेदवारी घोषणा गरेका हुन्। उनले नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तर्फबाट बागमती प्रदेशका साझा उम्मेदवार भएर मैदानमा रहेको जानकारी गराए। विगात ३२ वर्षदेखि सर्वोच्च अदालतमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कोइराला चर्चित कर्पोरेट लयर हुन्।
कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानुन व्यवसायीहरूको अनुगमनदेखि उनीहरूको क्षमता विस्तारसम्म काम गर्दछ। महान्यायाधिवक्ता अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसिएसनको निर्वाचित अध्यक्ष हुन्छ।
सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छन। यसअघि बागमती प्रदेशको पार्षद्को रूपमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए। पाँच वर्षको पदावधि हुने बार काउन्सिलमा नयाँ निर्वाचनको मिति तोकिएसँगै उम्मेदवारी पनि घोषणा गर्ने क्रम सुरु भएको छ।