Headlines

रास्वपा संगठन बजबुत अभियानमा, वैशाखमा महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा अभियानकै रुपमा अघि बढाउने भएको छ। शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन संगठन निर्माणलाई अभियानकै रुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए। 

प्रवक्ता झाका अनुसार संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गरिने छ । जसअनुसार बैठकमा जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई सहयोग तथा सहजीकरण गर्न केन्द्रीस्य सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला अनुसारको कार्यदल निर्माण गर्नेबारे छलफल भएको छ।

कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने रास्वपाले जनाएको छ। जसअनुसार अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने रास्वपाको तयारी छ। 

रास्वपाले वैशाखमा आफ्नो महाधिवेशन सम्पन्न गर्ने बताएको छ। शनिबारको बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिका बारेमा अवगत गराएका थिए।