न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो ।
किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाइएको हो । बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्वको रुपमा लिने गरिन्छ ।
सो अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोलम्बिया युनिभर्सिटीका अन्तराष्ट्रिय तथा तुलनात्मक शिक्षाका एशोसिएट प्रो.डा. प्रेम फ्याकले बलिहाङ तङ्नाम जस्ता मौलिक पर्वहरु रमाइलोका लागि मात्र नभएर विभिन्न जातजाति, धर्म र संस्कृतिसँग जोडिएका नेपाली समुदायबिच अन्तरकृया गर्ने अवसर समेत हुने गरेको बताए । यस्ता कार्यक्रमले हामी को हौं भनेर आफ्नो परिचय स्थापित गराउन थप सहयोग पुग्ने बताउदै डा. फ्याकले बालबालिका, युवा, प्रौढ र पाका उमेरका सबैको उपस्थितिले अन्तरपुस्ता सम्वाद सिर्जना गरेको तर्क प्रस्तुत गरे ।
कार्यक्रममा स्थानीय कलाकारहरुले लिम्बु भेषभेषामा लिम्बू जातिहरुको मौलिक बाजा च्याब्रुङ बजाएर केलाङ् प्रसुतुत गरेका थिए भने तुतु तम्याहाङ (बुद्धिजिवी)हरुलाई तोङबा खुवाएर सम्मान गरिएको थियो। लिम्बू संस्कृति झल्किने साँस्कृतिक शो मा ४ बर्षदेखि माथिका बालबालिकाहरुले लिम्बू भेषभुषा तागा र मेख्ली (लिम्बू मौलिक पहिरन) लगाएर स्टेजमा क्याटवाक गरेका थिए। प्रेम मेयाङवाले हाक्पारे साङलो गाइएका थिए। उनको हाक्पारेमा अन्य स्थानीय कलाकारहरुले साथ दिएका थिए। त्यस्तै लारिङ्गेत् (देउसी भैलो) तथा यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो।
नयाँ आउने पुस्तालाई आफ्नो भाषा संस्कार र संस्कृतिको ज्ञान होस भनेर यस्ता कार्यक्रम वर्षेनी चुम्लुङ अमेरिकाले आयोजना गर्दै आएको बताउँदै चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले भावी पुस्तालाई आफ्नो संस्कृति प्रति ज्ञान लगाव बढाउन कार्यक्रमको आयोजना गरिएको बताए।