जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कार्की उम्मेदवार

Spread the love

नेपाली कांग्रेसको राजनीतिमा पारिवारिक पृष्ठभूमी रहेक्का टेक्सस निवासी ज्ञानेन्द्रराज कार्कीले नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने कुरा एक कार्यक्रम गर्दै घोषणा गरेका छन्।

अगष्ट १०, २०२६ सोमबार उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दै कार्कीले आगामी अगस्ट १४, १५ र १६, २०२६ भर्जिनिया राज्यमा आयोजना गरिएको नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए। नेपालमा ट्रेड युनियन कांग्रेसका रूपमा पहिचान बनाएका कार्कीले उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिबद्धता समेत सार्वजनिक गरेका छन्।

उनका प्रतिबद्धतामा सशक्त संगठन निर्माण, आर्थिक पारदर्शिता र मितव्ययिता, समावेशी प्रतिनिधित्व, नेतृत्वमा अवसरको न्यायोचित वितरण, अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको सहभागिता वृद्धि, नेपाली कांग्रेससँग बौद्धिक तथा प्राविधिक सम्बन्ध विस्तार, सहमति–सहकार्य र संस्थागत विकास तथा प्रवासी नेपालीको सुखदुःखको सारथीका रूपमा नेपाली जनसम्पर्क समितिलाई स्थापित गर्ने विषय रहेका छन्।

दोलखा पुर्ख्यौली घर भएका कार्कीको काठमाडौंको कोटेश्वरमा समेत बसोबास रहेको छ। कृषि विकास बैंकमा कार्यरत रहँदा उनले नेपाल वित्तीय संस्था कर्मचारी संघको केन्द्रीय महासचिव तथा अध्यक्षका रूपमा काम गरेका थिए। नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय रहँदै उनले मजदुर अधिकारका विभिन्न विषयमा भूमिका निर्वाह गरेका छन्।

कार्की सन २००८  देखि नेपाली जनसम्पर्क समितिमा आबद्ध छन्। उनी लगातार तीन कार्यकाल केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका छन्। साथै, सन् २०१४ मा ड्यालसमा सम्पन्न नेपाली जनसम्पर्क समिति अमेरिकाको महाधिवेशनमा आयोजकको योगदान उनको थियो। उनी नेपाली जनसम्पर्क समिति अमेरिका, डलास-फोर्टवर्थ च्याप्टरका निवर्तमान सभापति पनि हुन्। विगतमा नेपाली जनसम्पर्क समितिका गतिविधि तुलनात्मक रूपमा न्यून रहेका बेला कार्कीको नेतृत्वमा डलास–फोर्टवर्थ च्याप्टरले विभिन्न गतिविधिलाई तीव्रता दिएको बताइएको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन तयारी समितिमा समेत कार्की सदस्यका रूपमा रहेका छन्। साथै तेस्रो महाधिबेशन तयारी समितिमा सदस्यता तथा प्रतिनिधि भेरिफिकेशन टीमको संयोजकको रुपमा आफ्नो जिम्मेवारी सफलताका साथ सम्पन्न गरेका छन्। कार्की कांग्रेसका बिशेष महाधिवेशन पक्ष, नियमित महाधिवेशन पक्ष मात्र होइन पुराना नयाँ सबैखाले नेताहरुसंग पनि सामिप्यता भएका व्यक्ति हुन्।