सभापति लामिछानेद्वारा महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो दलको पहिलो महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्। यहि आइतबार देखि चितवनमा आयोजित पहिलो महाधिवेशन पूर्व उनले यस्तो धारणा राकेका हुन्। शनिबार चितवनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाईतर्फ लान सक्ने हुनाले यसतर्फ ख्याल गर्न आग्रह गरे।

सभापति लामिछानेले अहिलेसम्म आफ्नो नेतृत्वलाई विश्वास गरेर साथ दिएकोप्रति धन्यवाद दिदै आगामी दिनमा पनि पार्टीलाई अझ समृद्ध पार्ने जिम्मेवारीका साथ एकताबद्ध भएर अघि बढ्ने धारणा राखे । उनले निर्वाचनबाट जस्तो परिणाम आए पनि रास्वपाका सबै नेता तथा कार्यकर्ताहरु एउटा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुने विश्वास समेत व्यक्त गरे। 

आफ्नो जिन्दगीको अनेक भोगाई र उतारचढावका बीच पछिल्लो चार बर्षमा भएका कामहरुको व्याख्या र वर्णन गर्न आवश्यक नरहेको भन्दै भन्दै उनले पारदर्शी रुपमा आफूहरु आम नागरिकको सार्वजनिक परीक्षणमा रहेकाले रास्वपाको जिम्मेवारी हिजोको भन्दा धेरै महत्वपूर्ण रहेको बताए। रास्वपाका माध्यमबाट नागरिकले देखेको सुशासन, समृद्धि र सामाजिक न्यायको सपना पुरा गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता समेत जाहेर गरे।