काठमाडौं/नेपाली संगीत क्षेत्रका कलाकारहरूको हकहित, सम्मान, संरक्षण तथा सांस्कृतिक पहिचानको संवर्द्धनका लागि स्थापना कालदेखि नै निरन्तर सक्रिय रहँदै आएको राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय कार्यसमितीको आयोजनामा बृहत पिकनिक कार्यक्रम यही मिति वि.सं. २०८२ माघ १० गते शनिबार सभ्य, भव्य तथा ऐतिहासिक रूपमा सफल भएको छ।
संघको लामो इतिहास, संघर्ष र उपलब्धिलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले कलाकारहरूबीच आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि गर्नुका साथै संघको संस्थागत गरिमा र उद्देश्यलाई पुनः उजागर गरेको सहभागीहरूले बताएका छन्। संगीतकर्मीहरूको साझा संस्थाका रूपमा स्थापित राष्ट्रिय संगीतकर्मी संघले विगतदेखि नै कलाकारको पेशागत अधिकार, सामाजिक सुरक्षा, सम्मान तथा नेपाली लोक र आधुनिक संगीतको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कार्यक्रम नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै आईजीपी कार्कीले राष्ट्रिय संगीतकर्मी संघले विगतदेखि नै संगीत तथा सांस्कृतिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गरे। उनले कलाकार समाजका ऐनाजस्तै भएको उल्लेख गर्दै संघले कलाकारको हकअधिकार, सामाजिक सम्मान र सांस्कृतिक पहिचान जोगाउन खेलेको भूमिका उदाहरणीय रहेको बताए। साथै, संघले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रम, अभियान तथा गतिविधिहरूको सराहना गर्दै आगामी दिनमा संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश कटुवालले राष्ट्रिय संगीतकर्मी संघको स्थापना कालदेखि हालसम्मको यात्रामाथि प्रकाश पार्दै संघले भोगेका चुनौती, संघर्ष र उपलब्धिहरूको चर्चा गरे। उनले संघ कलाकारहरूको साझा अभिभावक संस्थाका रूपमा स्थापित हुनुका पछाडि विगतका नेतृत्व, सदस्य तथा शुभेच्छुकहरूको योगदान अविस्मरणीय रहेको बताए। अध्यक्ष कटुवालले वर्तमान कार्यसमितीले संघको गौरवशाली इतिहासलाई आत्मसात गर्दै संस्थागत सुदृढीकरण, पारदर्शिता, सक्रियता र परिणाममुखी कार्यदिशालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
उनले कलाकारको एकता, पेशागत सुरक्षा, सम्मानजनक जीवनयापन तथा सामाजिक सुरक्षाका सवालमा संघले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै कलाकार केन्द्रित यस्ता सिर्जनात्मक, एकतामूलक तथा आत्मीयता बढाउने कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिने स्पष्ट पारे।
कार्यक्रममा संघको वर्तमान कार्यसमितीले गरेका कार्यहरूको समीक्षा गर्दै उपस्थित कलाकार, अतिथि तथा शुभेच्छुकहरूले खुलेर प्रशंसा व्यक्त गरेका थिए। विशेषगरी अध्यक्ष कटुवालको नेतृत्वमा संघले पछिल्लो समय संस्थागत सुधार, सदस्य विस्तार, कलाकारसँग प्रत्यक्ष संवाद तथा सहकार्यमा उल्लेखनीय प्रगति गरेको सहभागीहरूको भनाइ थियो।
उक्त अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। सम्मान कार्यक्रमले समाज, पत्रकारिता, व्यवसाय, सेवा तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वप्रति कृतज्ञता व्यक्त गर्नुका साथै कलाकार र समाजबीचको सम्बन्धलाई अझ मजबुत बनाएको थियो।
कार्यक्रमका संयोजक तथा संघका उपाध्यक्ष मेश दुलाल ‘कागे’ले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण कलाकार, समाजसेवी, शुभेच्छुक, प्रायोजक तथा अतिथिहरूप्रति हार्दिक आभार व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरू केवल मनोरञ्जनका लागि मात्र नभई कलाकारहरूबीच आपसी समझदारी, एकता र संगठनात्मक मजबुतीका लागि अत्यन्त आवश्यक रहेको बताए। साथै कलाकारको हकहित, सम्मान र सुरक्षाका विषयमा आफूले कुनै पनि कसर बाँकी नराख्ने दृढ प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई सभ्य, अनुशासित र भव्य बनाउन उनले निर्वाह गरेको भूमिकाको उपस्थित सबैले प्रशंसा गरेका थिए। संघका पुर्व अध्यक्ष राजेन्द्र कार्कि लगाएतले कलाकारको हक हितको बारेमा बोलेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिमा संघका सल्लाहकारसमेत रहेका नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराई, संघका सल्लाहकार एबम जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगाले, नेपाली कांग्रेस रामेछापका पूर्व सभापति तथा हाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्कालगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगाले, नेपाल प्रहरीका पहिलो सगरमाथा आरोही प्रहरी नायब निरीक्षक कुन्जाङ छोपेल शेर्पा, समाजसेवी कमल जिसी, ग्रीन सिटी हस्पिटलका सञ्चालक प्रविन टण्डन, समाजसेवी केशव सापकोटा, सफल व्यवसायी विनोद श्रेष्ठ,अशोक गिरीलगायत समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमकै अवसरमा करिब ७०–८० जनालाई आजीवन सदस्यता वितरण गरिएको संघले जनाएको छ। कार्यक्रममा सहभागी कलाकारहरूले यस्ता भेटघाट तथा सामूहिक कार्यक्रमहरूले कलाकारहरूबीच दूरी घटाउने, आपसी सम्बन्ध प्रगाढ बनाउने र संगठनप्रति अपनत्व बढाउने बताएका छन्। उनीहरूले राष्ट्रिय संगीतकर्मी संघले विगतदेखि गर्दै आएको कार्यले कलाकारहरूलाई एकताबद्ध गर्दै आएको उल्लेख गर्दै वर्तमान नेतृत्वले त्यसलाई अझ प्रभावकारी रूपमा अगाडि बढाएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय संगीतकर्मी संघले आगामी दिनमा पनि कलाकारको पेशागत अधिकार, सामाजिक सुरक्षा, सम्मान तथा नेपाली संगीतको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम, अभियान तथा सहकार्यहरू सञ्चालन गर्दै जाने जनाएको छ। संघले आफ्नो गौरवशाली इतिहासलाई आधार मानी वर्तमान र भविष्यमा पनि कलाकारको एकता, गरिमा र अधिकारका लागि निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गरेको छ। कार्यक्रम महासचिव विनोद ढकालले संचालन गरेका थिए भने विभिन्न चर्चित कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा सयौ कलाकारहरुको उपस्थिति रहेको थियो ।
