भक्तपुर। भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख-दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो कबिर राणा। राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाएका राणा यतिबेला भक्तपुर क्षेत्र नं. २ का जनताको साझा आवाज बनेर चुनावी मैदानमा होमिएका छन्।
पटकपटक नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य एवं महासमिति र हाल वरिष्ठ जिल्ला कार्यसमिति सदस्य रहेका कबिर राणाको राजनीतिक यात्रा कुनै सुखद् संयोग होइन, बरु पञ्चायतकालीन अन्धकार विरुद्धको कठोर संघर्षको उपज हो।विद्यार्थी जीवनदेखि नै लोकतन्त्रका लागि निरन्तर रूपमा संघर्ष गर्दै आइरहेका राणालाई नेपाली कांग्रेसले यसपाली भक्तपुर २ मा आफ्नो उम्मेदवार बनाएको छ।
२०३७ सालमा आदर्श माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघको राजनीतिमा पाइला टेक्दा उनीसँग एउटै सपना थियो- लोकतन्त्र । २०४२ सालको ऐतिहासिक ‘सत्याग्रह’ मा भाग लिँदा उनले ६ महिना जेल जीवनको कठोर यातना भोगे, तर उनको लोकतन्त्रप्रतिको आस्था डगमगाएन ।
बालकोटको बुथ सभापतिदेखि जिल्ला विकास समितिको निर्वाचित सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागसम्म पुग्दा उनले सधैँ भुँइमान्छेका मुद्दालाई प्राथमिकतामा राखे । उनले बीपी कोइरालाको समाजवादी चिन्तनलाई केवल नारामा मात्र होइन, आफ्नो कार्यशैलीमा पनि उतार्दै आएका छन् ।
राणा केवल राजनीतिज्ञ मात्र होइनन्, उनी एक प्रखर बौद्धिक र कानुनका ज्ञाता पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य र कानुनमा स्नातक गरेका उनले पत्रकारितालाई समाज रूपान्तरणको आधार बनाए । ‘देशान्तर साप्ताहिक’को प्रधानसम्पादक भएर उनले दशकौँदेखि जनतालाई सुसूचित गर्दै आएका छन् । राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनजस्ता गरिमामय संस्थाको बोर्ड सदस्यका रूपमा उनले पु¥याएको योगदानले उनको प्रशासनिक, व्यवस्थापकीय र नीतिगत कुशलतालाई प्रमाणित गरिसकेको छ ।
अमेरिका, बेलायत, जर्मनी, जापान र अस्ट्रेलियासहित दुई दर्जनभन्दा बढी मुलुकको भ्रमण गरेका राणासँग विश्वका विकसित शहरहरूको विकास मोडेल र नेपालको मौलिक आवश्यकताबीच समन्वय गर्ने स्पष्ट भिजन छ । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा बलियो वकालत गरेका छन् । भक्तपुरको ऐतिहासिक कला, संस्कृति र सम्पदालाई विश्व पर्यटन बजारसँग जोडेर स्थानीयको आम्दानी वृद्धि गर्ने, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्रका भित्री सडकहरूको स्तरोन्नति र ढल व्यवस्थापनलाई राणाले आफ्नो प्राथमिकतामा राख्दै आएका छन् ।
भक्तपुर २ का आममतदाताको घरदैलोमा जाँदै गर्दा राणाले सरकारी विद्यालयको स्तर सुधार र स्थानीय तहमा सुलभ स्वास्थ्य सेवाको सुनिश्चितता, स्थानीय युवाहरूलाई सूचना प्रविधि र सीपमूलक तालिममार्फत स्वदेशमै उद्यमी बन्ने वातावरण सिर्जना गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाएर जनमैत्री शासन व्यवस्था लागू गर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।
कबिर राणा केवल एक उम्मेदवार मात्र होइनन्, उनी भक्तपुरको समृद्धिको सपना बोकेका एक भरोसायोग्य सारथी हुन् । उनको विजयले भक्तपुरको आवाजलाई संसदमा बुलन्द पार्ने मात्र नभई, समग्र जिल्लाको विकासमा नयाँ आयाम थप्ने आम मतदाताको बुझाइ छ ।
राजनीति र पत्रकारितालाई जनताको सेवामा समर्पित गरिरहेका राणाले आफूले अहिलेसम्म चालेका अभियान र आफना प्राथमिकतालाई सदन र सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयको सुख–दुःखमा सारथी बनिरहेका राणाले अब त्यहाँका माग र आवश्यकतालाई सम्बोधन गर्न थप प्रयास गर्ने स्थानीय मतदाताको अपेक्षा छ ।
