प्रतीक्षाको घडीमा एनआरएनए, आइसीसी अनुसार चल्छौं: अमेरिका अध्यक्ष लम्साल

हलिउडखबरद्वारा एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालसंग गरिएको छोटो कुराकानीका आधारमा: 

प्रश्न: अहिले एनआरएनए अमेरिकाले के गर्दैछ?

सुर्य लम्सालः नेपालको सर्वोच्च अदालतको निर्णय पश्चात त्यसको सम्मानार्थ हामीले डा. शेष घलेको नेतृत्वमा बनेको सर्वाधिकार सम्पन्न कमिटीको निर्देशन कुरेर बसेका छौं। सर्वोच्च अदालतको फैसलाको पूर्णप्रति आउनासाथ उक्त कमिटीले हाम्रा आगामी कृयाकलापका बारेमा निर्देशन दिने आशा गरेका छौं। यसो भन्दै गर्दा एनआरएनएलाई असर नपर्ने खालका अमेरिकाका एनआरएनलाई लाभ हुने सामान्य सामाजिक कार्यक्रमहरु भने संचालन गरिरहेका पनि छौं।

प्रश्न: अहिले भेरोवाल एनआरएनए युएसएले साधारण सभा गर्ने भनेर झ्याली पिटेका छन्। डा. शेष घले आउने, मन्त्री आउने, एमाले नेता आउने भन्ने जस्ता झुटा प्रचार पनि गरेका छन्। यसबारे केहि जानकारी छ ?

सुर्य लम्सालः हेर्नुस, एनआरएनएको लोगो बाहेक अमेरिकाको हाम्रो यो संस्था कसैको लहडबाजीमा मनोरंजन गर्ने, जबर्जस्ती वा सस्तो प्रचार गरि लोकपृयता कमाउने उद्येश्यले खोलिएको कुनै गुटकोअखडा होइन। यो अमेरिका बस्ने नेपालीहरुको तर्फबाट नेपाल सरकारद्वारा मान्यता दिईएको “एनआरएनए” अभियानमा हामी प्रतिनिधित्व गर्छौं भनेर खोलिएको एनआरएनहरुको प्रतिनिधिमुलक साझा संस्था हो। “अमेरिकामा दर्ता भएको संस्था हो, स्वायत्त छौं” भनेर भनेको पनि सुनिन्छ। यस्तो सोचाई छ भने ठिक छ, एनआरएनएको लोगो हटाई एनआरएनए आईसिसीको सम्बद्दता हटेको जानकारी सम्पुर्ण सदस्यहरुलाई गराउने र बिधान परिवर्तन गरि केवल सामाजिक संस्थाको रुपमा मात्र संस्था चलाउने हो भने आईसिसीका मुल्य र मान्यतालाई साथ दिनुपर्छ भन्ने छैन। तर सर्प देखि दुला बाहिर हात अण्डा देखि दुलो भित्र हात गर्नुभएन। एनआरएनहरुको प्रतिनिधि भई एनआरएनएको नामबाट यो एजिएम गर्न मिल्दैनथियो। त्यसैले म आफैंले गरेको सँस्था आइसीसीसँग प्रतिबद्ध छ, रहन्छ र धमिलोमा माछा मार्दैन। अन्यथा उहाँहरुको एफिलियसन नरहेको भन्ने देखियो।

प्रश्न:जबर्जस्ति गरे के हुन्छ?

सुर्य लम्सालः उसै पनि उहाँहरुको अस्थित्व अदालतको फैसलाले समाप्त पारिदिएको छ। अर्थात भेरोको निर्वाचन नै बदर छ, बाँकी आफैं बुझे भैगयो। साठी माईल स्पिड लिमिट भएको बाटोमा सयमाईलमा गाडी कुदाए के हुन्छ? जबर्जस्ति गर्न पाईयो तर यसबाट पछि आउने परिणाम (consequence) पनि सामना गर्नुपर्यो। नियमको परिधिमा नरहे गाडी चलाउने लाईसेन्स जफत हुन सक्छ। नियम उल्लंघन गर्दैगए अझ परिणाम भयानक हुनसक्छ। जबर्जस्ति गर्नेले घटीमा यति सम्म त बुझ्नु पर्यो कि आज सामान्य नियम र अनुशासन नमान्दै गर्दा र भोलि कारबाहीको सामना गर्दैगर्दा दुखेसो गर्न मिल्ने ठाउँ रहदैन।

प्रश्न:यस्तै भए भोलि के होला त?

सुर्य लम्सालः अवश्य पनि उहाँहरु एनआरएनबात इलिमिनेट हुनुहुनेछ। तपांईलाई लाग्छ कि नेपालको सर्वोच्च अदालतको निर्णय अमेरिकामा दर्ता भएको संस्थालाई लाग्दैन भनि एनआरएनएकै लोगो मुनि बसि सोझै मानहानी गर्न मिल्छ ? यसका कानुनी पक्षको म ज्ञाता होईन तर ब्यवहारिक पक्षबाट हेर्दा स्पष्ट के छ भने अदालतको फैसलाको पुर्णप्रति प्राप्त पश्चात आज नदेखिएका नयां निर्देशनहरु त्यहि बनेको कमिटीले दिनुपर्ने हुनसक्छ। त्यस बखत ऊक्त कमिटीले बिगतको समयमा एनसिसीहरुले गरेका काम कारवाही, आईसिसी र सम्पुर्ण एनआरएनएप्रति एनसिसीहरुले देखाएको सम्मानको पनि मुल्यांकन गरिनेछ होला। 

एक किसिमले एनसिसीको क्रेडिट चेक हुन्छ। तपांईलाई लाग्दैन कि आज एनआरएनएलाई लगाएको धब्बा भोलिको क्रेडिट रिपोर्टमा देखिदैन। मैले ईमान्दारका साथ वहांहरुलाई भन्छु कि नियम उल्लंघन गरि आफ्नो क्रेडिट र सँस्थाको सम्मानमा लात नहान्नुस र भोलिको सहकार्यमा समाबेश हुने वाताबरण आयो भने आउन तयार हुनुहोस।हामी त लाइनमा छौं र रहन्छौं। भीरबाट लड्ने या लाइनमा बस्ने त्यो यहाँहरुको कुरा हो। यसमा यहांहरुको र सबै सदस्यको भलो भने यस्तो हर्कत गर्नु ठीक होइन। हैन जबर्जस्ति गरे त त्यसबाट झन् हामी (मेरो नेतृत्वमा निर्वाचित भएको टिम) लाई नै फाईदा हुन्छ। किनकी अरु बिडरको क्रेडिट बिग्रे घर किन्न मैले हालेको एकल अफर एप्रुभ हुन्छ। तर त्यो स्थितिमा पनि म यस्तो चाहन्न। सबैलाई ढोका खोलेर संस्थालाई दीर्घकालिन रुपमा लैजान म लाग्नेछु। आशा छ अरुपनि यही बाटोमा आउन।

प्रश्न: यहांहरुले काम कारबाही पुर्ण रुपमा ठप्प गर्नुभएको छ त?

सुर्य लम्सालः छैन। दीर्घकालिन रुपमा एनआरएनए अभियानलाई असर गर्ने काम, ईज्जतमा हानी, अनुशासनको उल्लंघन र संस्थाको खर्च नगर्ने हो। एनआरएनहरुलाई लाभ हुने सामाजिक चेतनामुलक कार्यक्रमहरु जस्तै मानसिक स्वास्थ्य, मेडिटेशन, आर्थिक ब्यवस्थापन, गैरआवासीय नागरिकता, सकारात्मक सोचको बिकाश  लगायत अन्य बिषयमा स्थानिय सामाजिक सॅस्थालाई सकृय गराई जनस्तर सम्म पुगिरहेको छ। 

अहिलेको अदालतको निर्णय पश्चात सोचिएका ठुला कार्यक्रमहरु स्थगित भएका छन। उच्चस्तरिय कमिटीको निर्णय र निर्देशन बिना हामी एनआरएनएको झन्डामुनि बसेर कुनै पनि बृहत कृयाकलाप गर्नेछैनौं। हामी यस एनआरएनए संस्था र संस्थालाई अनुगमन गर्ने निकायहरुको संधै सम्मान गर्छौं।

प्रश्न:अन्त्यमा, एनआरएनए अभियानमा जोडिएका अमेरिका र बिश्वका एनआरएनलाई के भन्नुहुन्छ?

सुर्य लम्सालः धेरै गैरआवासीय नेपाली सामाजिक अभियान्ताहरुले यस संस्थामा असिमीत समय, धन र पसिना खर्चिनु भएको छ।  धेरै सदस्यहरु ईमान्दार हुनुहुन्छ र वहाहरुले यस संस्थाको माध्यमबाट देश बाहिर रहेका सबै नेपालीलाई समेटी ब्यक्तिगत स्वार्थ होईन, एनआरएनका स्वार्थमा काम गर्ने नेतृत्वको खोजी गरिरहनुभएको छ।

संस्था अहिले परिबर्तनको संघारमा उभिएको छ। बिगतमा झैं अब पनि ब्यक्तिगत फाईदा, रिसराग, प्रचार-प्रसार, धन आर्जन, राजनैतिक स्वार्थ, गुटगत खिचातानी, झगडा, अनैतिक कार्य तथा चुनाबी एजेन्डामा नफसेर स्वस्फुर्त, अनुशासित र उधेश्यमुखी एनआरएनए निर्माण गर्न आजै देखि जुटौं। 

तपांई हाम्रो सहकार्य बिना अहिलेको उच्चस्तरिय कमिटीले सहि बाटो लिनमा कठिनाई भई “हाम्रो र राम्रो” एनआरएनएको सपना फेरि तुहिन सक्छ। ल न अब त सच्चिउँ। एनआरएनएको गैर आवासीय नागरिकताको मुल मुद्दा ओझेलमै छ। अहिले नेपालमा सानो लगानी गरि नेपाललाई पनि सहयोग र आफ्नो बुढेसकालमा खर्च जुटाउन सहयोग मिल्ने आशमा बसेका एनआरएनहरु केही ठुलाबडाका एकलौटी लगानी हेरेर “धत एनआरएनए” भन्दै पुर्पुरोमा हात लगाएका छन। दोषी को? 

तपांई हामी नै हो। दोष के मा छ ? संस्थागत अनुशासित नहुनुमै छ। उमेर पुगेका हामीलाई अनुशासन के हो कसैले सिकाउन नपरोस। अब पनि बल मिच्याई नगरौं। अब त कसैको कठपुतली नभई एक छिन आंखा चिम्लेर एक कदम पछाडि हटदै सोचौं, मैले कुनै गलत गरेर एनआरएन, समुच्च नेपाल र नेपालीको स्वच्छ अभियानमा बाधा त गरिन ? स्वअनुशासित बन्दै स्वभिमान नेपालीको ब्यवहार गरौं। संस्थाले यही बर्ष गति लिन्छ।जय एनआरएनए।

Comments
Related News
Latest Post