नेकपा एमालेको तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित उपत्यकाव्यापी माध्यमिक तहस्तरीय हाजिर जवाफ प्रतियोगिताको १२ औँ श्रृङ्खला शनिबार सम्पन्न भएको छ।
प्रतियोगितामा सहभागी ३० समूहमध्ये ललितपुरको सातदोबाटोमा रहेको ब्राइट फ्युचर समूह ए प्रथम भएको छ। उक्त विद्यालयको समूह बी दोस्रो भएको छ भने काठमाडौँको तरुण माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। यस्तै ललितपुर गोदावरीको एमर्याल्ड माध्यमिक विद्यालयले चौथो स्थान प्राप्त गरेको छ। उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्दै यस्ता प्रतियोगिताहरूबाट र तुल्सीलालको स्मृतिबाट धेरै कुरा सिक्न सक्ने कुरा बताए।
प्रतियोगिता संयोजक बाबुराम थापाका अनुसार प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेले क्रमश ५० हजार, ४० हजार, ३० हजार र २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा प्रभात मावि पाँचौ र रुद्रायणी मावि छैटौं भएका थिए। हरेक वर्ष वामपन्थी नेता तुल्सीलाल अमात्यको स्मृतिमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम हुँदै आएको छ।
