Headlines

नेपालमा ठुला लगानी बढाउँदै शेष र जमुना घले, ५ अर्ब बढी लगानीमा गुन्डुमा स्वनिग रिसोर्ट बन्दै

अष्ट्रेलियाकै सर्वाधिक धनी मध्येको सूचीमा रहेका नेपाली मुलका डा. शेष घले तथा जमुना घलेले नारायणहिटी दरबारको मूल गेट अगाडी करिब २० अर्ब भन्दा धेरै लगानीको होटल शेराटन पछि भक्तुपुरको गुण्डुमा अर्को ठुलो लगानी गर्न लागेका छन्।

नयाँ वर्षको अवसर पारेर भक्तपुरमा लक्जरीय ५ तारे रिसोर्ट स्वनिग बनाउन सोमबार भूमि पूजा गरिएको छ। ६० भिल्लाको यो रिसोर्ट निर्माण हुने डा. घलेले जानकारी दिए। रिसोर्टमा झण्डै ५ अर्ब अर्थात् करिब ४ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने भएको अनुमान गरिएको छ। उनीसँगै नेपाली होटल व्यवसायी अमृतरत्न शाक्य लगायतको समेत पार्टरशिप रहेको छ।

स्वनिग रिसोर्टले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा अत्याधुनिक पाँचतारे रिसोर्ट बनाउने भएको छ। रिसोर्टले सोमबार स्थानीय समुदायका अगुवाहरुको सहभागितामा भूमि पूजा कार्यक्रम सम्पन्न गरेको हो। यो परियोजनामा एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश हुने छ। नयाँ नेपाली ब्रान्ड स्वनिग अन्तर्गत सञ्चालन हुने यो रिसोर्ट पर्यटन आकर्षण गर्ने स्थान पनि हुने उल्लेख छ।

स्वनिग नेवारी शब्द हो, जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम भएको र जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनर्निर्माण गर्ने लक्ष्य राखेको बताइएको छ ।

प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृंखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ, जुन ‘सुतिरहेका बुद्ध शाक्यमुनि’को अगाडिपट्टी रहे जस्तो देखिन्छ । जहाहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपःका विहंगम दृश्य देखिने उल्लेख छ। 

अन्तर्राष्ट्रिय ब्यबसायी डा. घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष पनि हुन्। उनकै नेतृत्वमा सर्वोच्चको परमादेशअनुसार एनआरएनएको एकता महाधिवेशन गर्न लागिएको छ।

Leave a Reply