देश संबिधान र ऐन कानुनले चल्ने हो, आवश्यक परे देशको हितमा संबिधान र ऐन कानुन संसोधन गर्नुपर्छ त्यसैका लागि संसद छ। कानुन बनाउने र संसोधन गर्ने निकाय संसद मात्र हो, कार्यपालिका होइन भन्ने अभिव्यक्ति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। आजको रातोपाटीमा नेपालको संबिधान र अहिलेको अध्यादेशका बारेमा डा. कोइरालाको धारणा, केहि ऐतिहासिक पक्षलाइ समेत समेटेर ऐतिहासिक पोस्ट गरिएको छ।
उसो त डा. कोइराला पछिल्लो पटक धेरै चर्चामा छन्। कहिले कांग्रेसको आगामी महाधिवेशनलाइ लिएर, कहिले रास्वपा सभापति रवि लामिछानेप्रति सरकारबाट भएको प्रतिसोधि कदमबारे त कहिले अध्यादेशकाबारे। कांग्रेसका बृद्ध नेता मध्ये अहिले डा. कोइराला बढी चर्चामा छन्।
रातोपाटीले उनेको भनाइ राखेको छ, संबिधानको ड्राफ्टिङ कमिटीमा म थिएँ। हामीले हतारमा संविधान बनाए जस्तो लाग्छ। छलफल गरेनौँ, सबै धारा पढेर सुनाइदियो, पास भन्यो, पास भन्यौँ। ६ वटा प्रदेश बनाउने भनेर निर्णय भयो। भोलिपल्ट बिहान फेरि ड्राफ्टिङ कमिटीको बैठक थियो त्यहाँ जाँदा सातवटा प्रदेश बनिसकेछ। कसले बनायो, किन बनायो, के भयो भन्दा सुर्खेतमा तीनजना व्यक्ति मरे भन्ने आयो।
अहिले आफ्नै कांग्रेस संलग्न सरकारले अध्यादेश ल्यायो। अध्यादेशमा हाम्रा साथीहरूले भन्नुहुन्छ, त्यो संविधानमा लेखेको छ, ल्याउन पाइन्छ। देशै नचल्ने अवस्था भयो भने पो अध्यादेश ल्याउने हो त। जेमा र जहिले जस्तो स्थितिमा पनि अध्यादेश ल्याएर हुँदैन त्यसको औचित्य पुष्टि गर्नुपर्छ।
नेपाली कांग्रेस र माओवादी मिलेर २०७९ सालमा चुनाव लड्यौँ तर सरकार एमाले र माओवादीको बन्यो फेरी त्यसको दुई महिनापछि कांग्रेस र माओवादीको सरकार बन्यो। त्यसपछि एमाले र माओवादीको र अहिले कांग्रेस र एमालेको सरकार बनेको छ। दुर्भाग्य के भएको छ भने नेपाली कांग्रेस लार्जेस्ट पार्टी छ तर अहिले सेकेन्ड पार्टीका रूपमा हामी काम गरिरहेका छौँ।
कुनै ठाउँमा पनि नेपाली कांग्रेस पहिलो छैनौ, प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकको गर्भनर, योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, सम्पत्ति शुद्धीकरण सबै कम्युनिस्टहरूको हातमा छ। कांग्रेस बोल्न सकिरहेको छैन। नेपाली कांग्रेस खराब होला तर देशलाई बिग्रन चाहिँ दिँदैन भन्ने बुझ्न जरुरी छ। नसकौँला तर ऋण लिई देश चलाउन हामी दिँदैनौँ, गर्दैनौँ।
यसरी जे मनलाग्यो त्यसै गर्नुहुँदैन। संविधान भन्ने कुरा एमालेको वा कांग्रेसको मात्रै होइन अरु पार्टी र जनताको पनि हो। देश र संविधान उनीहरूको पनि हो। किन पुग्नुपर्यो बहुमत, कन्भिन्स गरौँ, माओवादी, रास्वपा र राप्रपालाई, उनीहरूको पनि केही कुरा होलान् समेटौँ, अगाडि बढौँ।