राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनलाई लक्षित आवश्यक तयारी थालेको छ । सोहीअनुसार रास्वपाले उम्मेदवार छनोट प्रक्रिया, संगठन विस्तार तथा कार्यकर्ता अभिमुखीकरणलाई तीव्रता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा अनुमोदन गर्नेदेखि देशभर संगठनात्मक गतिविधि अघि बढाउनेसम्मका निर्णय गरेको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।
उनकै संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय समेत भएको छ । साथै, केन्द्रीय उम्मेदवार छनोट समितिका लागि इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको तयारीकै क्रममा पार्टीले केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गर्ने भएको छ । उनीहरूले स्थानीय निर्वाचनका उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन् । यसको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन् ।
रास्वपाले निर्वाचनसँगै संगठनलाई थप व्यवस्थित बनाउने निर्णय पनि गरेको छ । मधेशमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि पार्टी संगठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहनेछन् । बैठकले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न उक्त समिति गठन गरिएको हो ।
यसैगरी रास्वपाले पार्टीको सांगठनिक संरचनामा विभिन्न जिम्मेवारीसमेत तोकेको छ । सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोतम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ । पुरुषोतम सुप्रभात यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै, जगदीश खरेललाई प्रवक्ता तथा डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ ।
पार्टीले संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन, जनस्वास्थ्य, पूर्वाधार, अर्थ तथा प्रशिक्षण विभागमा समेत जिम्मेवारी तोकेको छ । संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ । रास्वपाले असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । पार्टीले संगठनात्मक गतिविधि विस्तारसँगै नीति, विचार र गतिविधिलाई डिजिटल माध्यमबाट अघि बढाउने तयारी गरेको हो ।
